एजेन्सी- ५ जना व्यक्ति मजदूरले काम गर्छु भनेर लगेको एडभान्स रकम फिर्ता लिन गाउँ पुगे। तर मजदूरहरु पैसा दिन तयार थिएनन्। अनि उनीहरुले पैसा फिर्ता माग्न आएकाहरुलाई उल्टै बच्चा चोर भएको हल्ला गाउँभर फैलाए। बच्चा चोर भनेपछि गाउँ नै ती किसानविरुद्ध उल्टियो।
हेर्दाहेर्दै एकैछिनमा जम्मा भएको भीडले उनीहरुविरुद्ध लठ्ठी र ढुंगाले जाइलाग्यो। भीडको कुटपिटमा परेकामध्ये १ जनाको मृत्यु भएको छ भने ५ जन गम्भीर घाइते भएका छन्। किसानहरु चढेर आएको २ वटा गाडीसमेत भीडले जलाइदिएको छ।
यो घटना हो भारत मध्यप्रदेश धार जिल्लाको तिरला क्षेत्रको।
घटनाको भिडियो भाइरल हुँदासम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन।
स्थानीय प्रहरी एसपी आदित्य सिंहका अनुसार पीडितहरुले काम गर्न भनेर केही मजदूरलाई एडभान्सवापत् ५० हजार रुपियाँ दिएका थिए। तर मजदूर काम नगरी भागेर गाउँ आए। पैसा फिर्ता लिन पीडितहरु गाउँमा नै आए। तर उनीहरुलाई ५ सयभन्दा बढीको भीडले बच्चा चोरभन्दै लखेटी लखेटी कुटपिट गर्यो।
घटनामा गणेश नामक कार चालकको मृत्यु भएको बताइएको छ।
पीडित नरेन्द्र शर्मा अनुसार मजदूर पैसा लिएर भागेपछि उनीहरुले स्थानीय प्रहरी थानामा उजुरी दर्ता गराएका थिए। पछि मजदूरका तर्फबाट फोन गरी आफनो पैसा लिन गाउँमै बोलाइयो। उनीहरु २ वटा गाडी लिएर गाउँ पुगे। तर गाडी गाउँ पुग्नेबित्तिकै मानिसहरुले ढुंगा हान्न थाले। गाडी घुमाएर भाग्दाभाग्दै केही पर पुगेपछि भीडले घेर्यो र ‘जिउँदो नछोड्’ भन्दै कारबाट बाहिर निकालेर पिट्न थाल्यो।
मध्यप्रदेशमा मुख्यमन्त्री कमलनाथले भने यो घटना लज्जाजनक भएको भन्दै दोषीविरुद्ध कडा कदम चाल्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।