डडेलधुरा– डडेलधुराको नवदुर्गा गाउँपालिकाले १० वटा विद्यालयलाई नमुनाका रुपमा छनौट गरि शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले प्रविधिमैत्री र गुणस्तरीय शिक्षालाई आत्मसाथ गर्दै सबै बिद्यालयमा ल्यापटप, ई–हाजिरी तथा प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराइने नीति अवलम्बन गरि कार्यक्रम अगाडि बढाएको छ।
शिक्षा नीतिमा नै गाउँपालिकाका सबै विद्यालयलाई नमुना विद्यालय बनाउने लक्ष्य लिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताए। प्रत्येक वर्ष ५/५ ओटा विद्यालयलाई नमुना विद्यालय बनाउदै अगाडि बढेको उल्लेख गर्दै उनले नमुना विद्यालयमा शैक्षिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरेको समेत बताए। नमुना विद्यालयमा ईन्टरनेटको व्यवस्थासमेत गरिने जनाइएको छ।
गाउँपालिकाभित्र रहेका माध्यमिक तथा आधारभूत गरि २८ विद्यालयमा विद्यार्थी बर्सेनि घट्दै गएकाले विद्यालयलाई प्रविधिमैत्री बनाउदै शिक्षामा गुणस्तरीयता कायम गर्ने उनले बताए ।
विद्यालयमा पुगेर शिक्षकका समस्यासँगै विद्यार्थीको शैक्षिक अबस्थाबारे स्थलगत निरीक्षण गर्नाले आफूलाई काम गर्ने जाँगरमा थप बल पुगेको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज उप्रेतीले बताए। विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय र सरकारले समय–समयमा अनुगमन गर्नु जरुरी रहेको उनको भनाइ छ।
गाउँपालिकाले साना कक्षामा बालवालिकालाई पठनपाठनमा चासो बढाउने उद्देश्यले प्रोजेक्टर र एलईडी मोनिटरका माध्यमबाट समेत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि उपकरणहरु प्रदान गरेको छ। गाउँपालिकाको शिक्षा नीतिमा प्रत्येक विद्यालयलाई प्रविधि हस्तान्तरण ल्यापटप, ई–हाजिरी र प्रोजेक्टरको माध्यमबाट पठनपाठन गर्ने कुरा उल्लेख भए अनुसार पालिकाले काम अगाडि बढाएको गाउँपालिकाका सुचना अधिकारी करुणाकर भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।