राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ सखडेश्वरी भगवती मन्दिर पुनर्निर्माण तथा पोखरी सौन्दर्यीकरण हुने भएको छ। पुर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार संयुक्त रुपमा पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन्।
प्रदेश २ को ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमअन्तर्गत ६ करोड ३० लाखको लागतमा पुनर्निर्माणको काम गरिने छ। भगवती मन्दिर पुनर्निर्माण र पोखरी सौन्दर्यीकरण १५ महिनाभित्र सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख भगवान झाले बताए।
योजनाअन्तर्गत धर्मशाला, सार्वजनिक शौचालय, पोखरी घाटको आधुनिकीकरण, घाटमा बिजुली बत्ती जडान लगायतका कार्य गरिने छ। त्यसका लागि ठेक्का सम्झौतासमेत भइसकेको झाले जानकारी दिए।
शिलान्यास समारोहमा पुर्वमन्त्री यादवले धार्मिक तथा पौराणिक सम्पदाको संरक्षणले आर्थिक विकासमा सहयोग गर्ने र मुलुकको विकासमा टेवा पु¥याउने बताए। ‘धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्पदाको संरक्षणले मुलुक विकासको बाटो तय गर्छ,’ उनले भने।
प्रदेश विकासका तीन आधार : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन गरी तीन वटा आधार तयार गरेको बताउँदै त्यसैअन्तर्गत पर्यटकीय क्षेत्रको विकास र पहिचानका लागि सरकारले काम गरिरहेको बताए ।
पर्यटन विकासको मुख्य आधार सौन्दर्यीकरण र आकर्षण भएकैले प्रसिद्ध मठमन्दिरको पुनर्निर्माण र सौन्दर्यीकरण सुरु गरिएको उनको भनाइ छ। जनकपुरको जानकी मन्दिरबाट सुरु भएको सौन्दर्यीकरण अभियान छिन्नमस्ता, सलहेश, पारसनाथ, विभिन्न मस्जिदलगायतका धार्मिक स्थलको पुनर्निर्माण गर्दै अघि बढिरहेको राउतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।