काठमाडौं- पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा बुधबार राजधानीमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिए।
दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उनले बितेका ६ महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यस निम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएकामा जोड दिए। पचास वर्षपछि राष्ट्रसङ्घको उक्त विवाद समाधान गर्ने प्रयासस्वरुप गत महिना छलफल भएको जानकारी दिँदै आफूहरु परिणामको प्रतीक्षामा रहेको उनले बताए।
फरक प्रसङ्गमा उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताउँदै समय-समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुगेको बताए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।