काठमाडौं– फिल्म ‘साङ्लो’मा समावेश आफ्नो गीत अर्कैको नाममा सार्वजनिक भएपछि कडा कुरा गरेका थिए गीतकार सुदिप भुपाल सिंहले। उनको पहिलो प्रतिकृया पढ्दा उनी आफ्नो श्रृजनाको स्वामित्व अर्कैलाई दिने अभिनेता विराज भट्ट अनी संगितकार सुरेश अधिकारीलाई राम्रै पाठ पढाउने मुडमा देखिएका थिए।
उनले कानुनी उपचार खोज्न महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी पनि दिए। तर कुरा मिल्यो ५० हजार एक रुपैंयामा। मिलापत्र पनि प्रहरी कार्यालयमा होइन बाहिरै भयो स्टार मलमा।
बुधबार ‘साङ्लो’का संगीतकार सुरेश अधिकारीसँग उनले आफ्नो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ विवाद सुल्झाउँदै पत्रकारसामु हात मिलाए।
यद्यपि फिल्मका निर्माता विराज भने यो प्रेस मिटमा आएनन्। पीडित सुदिपसमेत विराजसँग रुष्ट देखिए। गीत विवाद सुल्टिएको जानकारी गराउँदै गर्दा विराजको अनुपस्थिति र सुदिपको रुष्टताले उनीहरुबीचको तिक्तता झन् बढेको प्रष्टै देखियो।
भएको के हो?
विवादित गीत १० दिनअघि बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको थियो। त्यसको तीन-चार दिनपछि जब गीत फिल्म निर्देशक सुदीप भुपाल सिंहको नजरमा पर्यो, उनी दंग खाए।
कारण, तीन वर्षअघि यही गीत उनले आफ्नो निर्देशनमा तयार भएको फिल्म ‘रुद्रपिया’मा राख्ने तयारी गरेका थिए। सोही अनुरुप संगीतकार अधिकारीलाई गीतको शब्द उपलब्ध गराएका थिए। तर, पछि विविध कारणले गीत फिल्ममा अटाउन सकेन। त्यसपछि गीत सुरेशको ‘अर्काइभ’मा थन्कियो।
तर, जब सुदिपले यो गीत उस्तै भावमा केही शब्द परिवर्तन गरेर अर्कै फिल्ममा राखेको देखे, उनी चकित भए। त्यसपछि गीतकारको रचनाकारमा कसको नाम छ, हेरे।
जसको स्वर छ, नाम पनि उसैको छ- निशान भट्टराई। त्यसपछि चकितको मात्रा झन् बढ्यो उनमा। एक त आफूलाई थाहै नदिई आफूले रचना गरेको गीत फिल्ममा राखियो। अर्को क्रेडिट पनि अर्कैलाई दिइयो।
त्यसपछि रिसले चुर सुदिप प्रतिलिपी अधिकारको रक्षार्थ प्रहरीको शरणमा पुगे, मुद्दा मिलाइदिन अनुरोध गर्दै। उनले प्रहरीकहाँ गीतका संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनीविरुद्ध शुक्रबार उजुरी दिए।
सुरेशका अनुसार त्यसपछि प्रहरीले उनलाई फोन गरेर भन्यो, ‘...यस्तो गुनासो आएको छ, वार्ता गरेर मिलाइहाल्नुस्।’
यता फिल्म रिलिजको संघारमा गीतलाई चोरीको आरोप लागेपछि फिल्मका निर्मातासमेत रहेका अभिनेता भट्टलाई तनाव भयो। फिल्मको रिलिजै रोकिएला कि भन्ने डर बढ्यो।
एकातिर गीत विवाद सुरु हुनासाथ कसैलाई थाहै नदिई उनले सेन्सर बोर्डमा फिल्म पुर्याए, सेन्सर गराए। त्यसपछि विवाद सल्टाउन भनेर वार्ता तय भयो - सुदिप, विराज, सुरेश र फिल्मका वितरक गोपाल कायस्थको उपस्थितीमा।
तर, आफ्नो गल्ती नरहेको भन्दै विराजले उल्टै ठूलो स्वर गरेपछि वार्ता मिलेन। विराजलाई लाग्यो - यो त फिल्म रिलिजको पूर्वसन्ध्यामा ममाथि गरिएको प्रपञ्च हो। त्यसैले दोहोर्याइरहे, मेरो कुनै गल्ती छैन, मैले संगीतकारसँग सबै प्रक्रिया पुर्यााएर गीत लिएको हुँ।
पीडितमाथि ‘ब्ल्याकमेलिङ’को आरोप
वार्तामार्फत समाधान नभएपछि विराजले त्यसको भोलिपल्टै मंगलबार काठमाडौं, पुतलिसडकस्थित स्टारमलमा प्रेस मिट राखे, संगीतकार अधिकारीको उपस्थितसहित। र, उजुरीकर्तामाथि गम्भिर आरोप लगाउँदै भने, ‘ममाथि ब्ल्याकमेलिङ भयो।’
‘क्षतिपुर्तिका नाममा ब्ल्याकमेलको कुरा गर्यो,’ उनले प्रेसमिटमा सुदिपमाथि रिस पोख्दै भने, ‘क्षतिपुर्ति स्वरुप एउटा नयाँ गीत बनाएर दिनेभन्दा पनि उहाँ मान्नुभएन। क्षतिपुर्ति स्वरुप केही रकम दिने भन्दा पनि यसले त मलाई घरमै पुग्दैन भन्ने जवाफ आयो। मोटो रकम नै चाहिएको देखियो। १०-२० लाखकै कुरा आयो।’
छेउमै बसेका वितरक गोपाल कायस्थलाई निर्देशकको पुरा नाम सोध्दै उनले थप भने, ‘उहाँ ‘माला’को डिरेक्टर हुनुहुँदो रहेछ, उहाँले नै भनेपछि थाहा पाएको मैले। उहाँलाई त्यत्रो पैसा केका लागि दिने? किन दिने? गल्ती गरेको भए पो दिने? एउटा प्रोड्युसरलाई लगानी उठाउन कति गाह्रो छ, त्यो तपाईहरुले देखिरहनुभएको छ। यस्तो अवस्थामा रिलिजको दुइ-तीन दिन अगाडि एउटा प्रोड्युसरको घाटी थिचेर गीत हटाउन लगाउनु जायज हो?’
उनले यसो भनिरहँदा लाग्थ्यो, एउटा सर्जकको गीत उसलाई थाहै नदिई, क्रेडिटै नदिई राख्नुपनि जायज होइन भन्ने हेक्काचाँही उनमा रहेनछ।
गल्ती कसको?
प्रेस मिटमा विराजले सुरेशकै अगाडि प्रष्ट भने, मलाई यो सुदिपको गीत हो भन्ने आधिकारिक जानकारी थिएन। उनको यो भर्सनसँग सुरेशले आपत्ति जनाएनन्। यसले प्रष्टै देखायो, सुरेश नै यो गल्तीका प्रमुख पात्र हुन्।
आफूले पारिश्रमिक तिरेर संगीतकारसँग गीत लिएकाले आफ्नो गल्ती नभएको तर्क गर्दै विराज पन्छिए। त्यसपछि सुरेशले गीत रचनामा सुदिपको संलग्नता रहेको त स्वीकारे तर भनेनन्, ‘मेरो गल्ती हो।’
बरु भनिरहे, ‘मेरो गल्ती किन होइन भने यो गीत मेरो च्यानलबाट मैले अपलोड गरेको होइन। अपलोड गर्नेले को गीतकार त्यो पनि सोधेन। त्यसकारण निम्तिएको प्राविधिक त्रुटी हो यो।’
आफू संगीतकर्मीको हकहितका लागि लडिरहेको व्यक्ति भन्दै उनले थप भने, ‘रेखा फिल्म्स्सँग सहमती गरेर यो गीत मैले राखेको थिएँ। प्राविधिक त्रुटीका कारण सुदिपजीको नाम छुट्यो। यसले एउटा स्रष्टाको मनमा ठेस लाग्नु स्वभाविक हो।’
‘ब्ल्याकमेलिङ’ गरेको हो त?
बुधबार दिउँसो विराजले नै प्रेस मिट गरेको स्थानमा सुरेश र सुदिप एकसाथ उपस्थित भए। पत्रकारले सोधे- ब्लायकमेलिङ गरेको हो?
सुदिपले बिहानै फेसबुक स्टाटसमा असत्यको विरुद्ध आफू एक्लै पनि लड्न तयार रहेको भन्दै लेखेका थिए, ‘ब्ल्याकमेलिङ अपराधिक आरोप हो। यदि मैले त्यसो गरेको छु भने मलाई कानुनतः कारबाही गरियोस्।’
पत्रकारसामु पुनः यही कुरा दोर्याउँदै उनले आफूले कुनै ठूलो रकम नमागेको बताए। विराजले अनावश्यक अफवाह फैलाएको उनको आरोप थियो।
‘मेरा लागि पैसाभन्दा पनि महत्वपुर्ण ‘रियलाइजेसन’ थियो, यो कुनै व्यक्तिविरुद्धको लडाइ पनि थिएन, मेरो आफ्नो सिर्जनाका लागि थियो,’ उनले भने।
सुदिपको सामु भने सुरेशले ‘साङ्लो’ युनिटबाट भुलवश गल्ती भएको स्वीकार गरे।
५० हजार १ रुपैयाँमा सहमती
पहिलोपटकको वार्तामा निर्माण युनिट सुदिपलाई ५० हजार क्षतिपुर्ति दिएर विवाद सल्टाउने पक्षमा थियो। तर, उनी मान्न तयार थिएनन्।
बुझिएअनुसार उनी अलि बढी रकम नै चाहन्थे क्षतिपुर्तिस्वरुप। तर, पाएको रकम घर नभित्र्याउने तयारीमा थिए।
त्यतिबेला विराजले ‘ब्ल्याकमेलिङ’ को दाबी गरेपछि वार्ता भाँडियो।
यता विराज प्रेसमिटमार्फत आक्रमक सुनिएपछि सुदिप उदार देखिए। उनले फिल्म वितरक कायस्थलाई फोन गरे र भने, ‘ठिक छ, तपाईहरुले भनेजस्तै ५० हजार दिनुहुन्छ भने दिनुस् तर एक रुपैयाँ थप्नुस्। १ रुपैयाँ मेरो अडान हो।’
अन्ततः यसमै सहमति भयो। बुधबार दिउँसो सुरेश र सुदिपले हात मिलाए। त्यसपछि सुदिपले घोषणा गरे, ‘म चलचत्रित्र विकास बोर्डका अध्यक्ष स्वर्गीय केशव भट्टराइलाई सम्झदै यो ५० हजार रकम उहाँको परिवारलाई सहयोग स्वरुप प्रदान गर्ने घोषणा गर्छु। अनि,क्षतिपुर्ति स्वरुप एक रुपैयाँचाँही घर लान्छु।’
विराज किन आएनन्?
सुदिपलाई ‘ब्ल्याकमेलिङ’को आरोप लगाएका विराज यो विवाद सुल्टिएको जानकारी गराउने कार्यक्रममा भने सहभागी देखिएनन्। बुझिएअनुसार यो घटनापछि सुदिप र विराज दुवै एकअर्काप्रति रुष्ट छन्।
विराजको आक्रमक प्रस्तुतिले रिसाएका सुदिप यो केस यत्तिकै मिलाउने पक्षमा थिएनन्। उनी कानुनी उपचारमै जाने तयारीमा थिए।
‘विराजजीले फिल्म रिलिज नहुने अवस्था भयो भने त्यसको पुरै क्षतिपुर्ति तपाईंले दिनुपर्छ भनेर सुरेशजीलाई हप्काउनुभयो। आफूलाई अप्ठेरो परेको भन्दै सुरेशजीले आफ्नो मुख हेरेर भएपनि केस मिलाउन अनुरोध गरेका कारण सुदिपजी मान्नुभएको हो,’ सुदिप निकटस्थ मित्रले नाम नलेखिदिने सर्तमा भने।
तर, विराजले माफी नमागेकोमा सुदिप खुशी भने छैनन्। ‘एउटा बाघको छाला बोकेको गाडी प्रहरीले समात्यो भने त्यहाँ बाघको छाला तस्करी गर्नेको मात्रै कुरा हुँदैन, तस्करी गरिएको छाला बोक्ने गाडीमाथि पनि प्रश्न उठ्छ,’ उनको तर्क छ।
र, गीतबारे विराजलाई थाहा नभएको अर्को पक्ष
धेरैलाई थाहा नहुनसक्छ, फिल्मवृत्तमा विराज र अभिनेत्री रेखा थापाको सम्बन्ध राम्रो छैन। र, विराजका अनुसार यो रेखाको फिल्म ‘रुद्रपिया’मा नराखिएको गीत हो भन्ने पनि उनलाई भिडियो तयार भइसकेपछि थाहा भएको हो।
‘नत्र विराजजीले रेखाले इग्नोर गरेको गीत कुनै हालतमा राख्नुहुन्थेन,’ उनी निकटस्थ श्रोतले भन्यो, ‘अहिले पनि यो केस यत्तिकै नमिलेको भए उहाँ गीत हटाएर भएपनि फिल्म रिलिज गर्न तयारी मुडमा हुनुहुन्थ्यो। त्यतिमात्रै होइन, रिलिजको संघारमा यो गीत विवादमा आउनुपछाडि रेखाको पनि हात छ कि भन्ने विराजजीको अनुमान छ।’
यता गीत विवादबारे रेखा भने मौन छिन्। र, अन्त्यमा विवाद सल्टिएको भनिएको यो गीत राति ९ बजेसम्म युट्युबमा हेर्दा गीतकारमा निशान भट्टराइकै नाम थियो।
यस्तो छ विवादित गीत:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।