काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयमा निर्मित गणतन्त्र स्मारक हटाएर शाहवंश झल्किने व्यवस्था गर्नुपर्ने बताएका छन्। संघीय संसद प्रतिनिधीसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै उनले त्यहाँ गणतन्त्र स्मारक बनाउनु गलत भएको बताए।
नारायणहिटीमा दरबार र शाहवंशसँग जोडिएका कुरा र संरचनामात्रै रहनुपर्ने उनको धारणा थियो। समितिमा बोल्दै उनले भने, ‘नारायणहिटी दरबारमा नेपालमा लामो समय शासन गरेको शाह वंश र व्यवस्था झल्किने संरचना हुनुपर्दथ्यो। त्यहाँ गणतन्त्र स्मारक बनाइयो। गणतन्त्र स्मारक नयाँ ठाउँमा बनाउनुपर्ने थियो तर नारायणहिटीमा बनाइयो। त्यो गलत भएकाले हटाइनुपर्छ।’
नेता नेपालले नारायणहिटी दरबार संग्रहालयमा व्यापारिक भवन र तारे होटल बनाउने कुरा सुनेको बताउँदै त्यसो गरिए राम्रो नहुने बताए। पर्यटनमन्त्री योगेश भट्टराईलाई जिज्ञासा राख्दै उनले नारायणहिटीमा कमर्सियल कम्प्लेक्स बनाउने र विश्वस्तरको होटल बनाउँदा ‘डिजास्टर’ हुने बताए।
मन्त्री भट्टराईबाट उत्तरको अपेक्षा गर्दै उनले भने, ‘नारायणहिटी कमर्सियल कम्प्लेक्स कि विश्वस्तरको होटेल बनाउने कुरा सुन्दैछु। त्यस्तो हो भने त्योभन्दा डिजास्टर केही हुँदैन।’
नेता नेपालले समग्र आन्दोलन र गणतन्त्र र पछिल्लो व्यवस्था परिवर्तनको आन्दोलनसँग जोडिएका संरचना झल्किने गरी अर्कै ठाउँमा स्मारक बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएका छन्। ‘गणतन्त्रको आन्दोलनसँग जोडिएको, संविधानको घोषणा, संघीयतामा प्रवेश गरेको इतिहासको झलक देखाउने अर्को स्मारक बनाउनुपर्छ,’ नेपालले भने।
उनले गणतन्त्रदेखि संघीयतासम्मको समग्र आन्दोलन दर्शाउने छुट्टै संग्राहलय बनाउन जरुरी भएको बताए। तर, त्यो नारायणहिटीमा उपयुक्त नभएको उनको धारणा थियो। उनले चीन र मलेसियाको उदाहरण दिँदै विभिन्न जातजातिको साझा म्युजियम बनाउन सुझाए।
अन्तर मन्त्रालय समन्वय छ कि छैन ?
उनले पयर्टन वर्ष २०२०का विषयमा पनि चासो प्रकट गरे। यसका लागि प्रशस्त गृहकार्य भए/नभएको बारे जिज्ञासा राख्दै आफ्ना सुझाव दिए। उनको चासो थियो, ‘नेपाल भ्रमण वर्षका लागि अन्तर मन्त्रालय समन्वय भइरहेको छ कि छैन? पर्यटन मन्त्रालय आफ्नै हिसाबले कुदेको छ। अर्को मन्त्रालय आफ्नै हिसाबले कुदेको छ। यसरी हुँदैन।’
नेपालमा आउने हरेक पर्यटक पुग्ने एक ठाउँ ठमेल रहेको बताउँदै त्यहाँको अवस्था सुधार गर्न सुझाए। उनले भने, ‘हरेक पर्यटक नेपाल आएपछि ठमेल त पुग्छ, पुग्छ। त्यहाँको बाटो बिग्रेको छ। कतै खाल्डो छ, कतै हिलो छ। उनीहरुलाई लाग्छ, नेपाल यस्तै हो।’
सरकारमा प्रगति विवरण सुनाउन हतार हुने तर अरुको कुरा नसुन्ने प्रवृत्ति रहेको औंल्याए। उनले भने, ‘पर्यटकहरुको कुरा सुन्नुपर्छ। उनीहरुको सुझाव लिनुपर्छ।’ यसैगरी उनले पर्यटकको सुरक्षालाई पनि ध्यान दिन सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।