काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को अनुदान यथावत रुपमै स्वीकार गर्न नसकिने आवाज उठाउने मध्येका एक रुघु पन्तले त्यसबारे ‘पोजिसन’ परिवर्तन गरेको बताएका छन्।
मंसिर अन्तिम साता सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा नेता भीम रावल र उनले एमसिसी यथावत रुपमै अनुमोदन गर्न नहुने आवाज उठाएका थिए।
विवाद बढ्दै गएपछि नेकपा स्थायी कमिटी बैठकले यसबारे टुंगो लगाउन नसकेर यसबारे निर्णय गर्ने अधिकार शीर्ष नेताहरु रहेको सचिवालयलाई सुम्पिएको थियो।
‘अमेरिकी सहायक रक्षा मन्त्री नेपाल आएर बोल्यो, अर्को पटक भियतनाम गएर बोल्यो-एमसिसी इन्डो प्यासेफिक स्ट्राटेजी (आइपिएस)सँग सम्बन्धित छ,’ बुधबार एमसिसीबारे राजधानीमा भएको एक बहस कार्यक्रममा पन्तले भने, ‘म संवेदनशील भएको त्यही कारणले हो। गएको स्थायी कमिटीमा यो विषय उठाउने रावल (भीम रावल) जी र म हौं। डकुमेन्ट रावल जीले ल्याउनुभयो, हामीले हेर्यौं।’
अमेरिकी अधिकारीले नै एमसिसी आइपिएसअन्तर्गत भएको कुरा राखेकाले बैठकमा आफूहरुले त्यो कुरा उठाएको पन्तले जानकारी दिए।
‘अमेरिकी अधिकारीले नै यो आइपिएससँग सम्बन्धित छ भनेपछि हामीले यसलाई बैठकमा उठाउनुपर्छ भनेर उठायौं,’ उनले भने, ‘त्यसपछि यसको बहस चर्किदै गयो। रावल जीले त भन्नुभएको थियो एउटा ‘नोट अफ डिसेन्ट नै लेखौं। मैले यसमा अलि विचार गरौं है भने पछि उहाँले त्यो लेख्नु भएन।’
पन्तले पछिल्लो समय भने आफू यसमा सकरात्मक भएको बताए। ‘डकुमेन्ट खोज्दै गयौं, यो हेर्दै जाँदा म चाहिँ यसमा अलिकति पोजेटिभ भएँ,’ उनले भने, ‘नेपालले विभिन्न दाताहरुले दिएका अनुदान र उनीहरुले राख्ने सर्तको तुलनामा एमसिसी उत्तम छ। मैले यही भएर पनि अलिकति पोजिसन परिर्वतन गरेको हुँ।’
एमसिसीलाई सिधै अस्वीकार गर्दा अमेरिकासँगको सम्बन्धमा पर्ने प्रभावबारे पनि विचार पुर्याउनुपर्ने धारणा उनको छ। पन्त भन्छन्, ‘अमेरिका विश्वको महाशक्ति हो। एमसिसीलाई नो भनेपछि अमेरिकासँगको हाम्रो परराष्ट्र सम्बन्ध के हुन्छ? नो भनिसकेपछि पर्ने प्रभाव नेपालले थेग्न सक्छ कि सक्दैन? यी सबै सन्दर्भमा हामीले हेर्नुपर्छ।’
एमसिसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने विषयबारे अझै पनि ‘कन्भिन्स’ नभएको भए पनि सबै कुरालाई विचार पुर्याउँदा यसलाई अनुमोदन गर्दा हुने धारणामा आफू पुगेको पन्तले बताए।
‘हामी जस्तो अवस्थामा छौं, हाम्रो मुलुक जस्तो अवस्थामा छ, यसले पर्ने राजनीतिक असरलाई राम्ररी विश्लेषण गर्ने हो भने मेरो व्यक्तिगत विचार बहसमा जाउँ र पारित गरौं भन्ने हो,’ पन्तले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।