काठमाडौं– नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मुख्य निर्णायकको रुपमा नेपाल आउन लागेका प्रकाश झाले फेस्टिभलका दौरान मास्टर क्लास पनि दिने भएका छन् । झाले फागुन ३ गते शनिबार फिल्म निर्देशन सम्बन्धी अनुभव पस्कने आयोजक निफले जनाएको छ ।
सात सातवटा राष्ट्रिय अवार्ड विजेता लेखक, निर्माता, निर्देशक झा सामाजिक–राजनीतिक फिल्म बनाउन माहिर मानिन्छन् । हाल केरलामा नयाँ फिल्मको सुटिङ गरिरहेका झा त्यतैबाट नेपाल आउन लागेका हुन् । उनले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ आदि फिल्म समीक्षात्मक तथा व्यवसायिक दुवै हिसाबले अब्बल मानिन्छन् ।
फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउडबाट आएका निर्माता, लेखकले पनि फिल्म सम्बन्धी कार्यशाला गर्नेछन् । फेस्टिभलका दौरानमा नै नेटफ्लिक्सका प्रतिनिधीले पनि डिजिटल स्ट्रिमिङका लागि फिल्म बेच्ने कौसलको अनुभव बाँड्नेछन् ।
५ दिनसम्म चल्ने फेस्टिभलमा नीर शाह निर्देशित फिल्म बासुदेव देखाइने र फिल्म हेरेपछिको छलफलमा नीर शाहसँगै लेखक धु्रवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्याय सहभागी हुने आयोजकले जनाएको छ। फेस्टिभलमा फिल्म प्रदर्शन र छलफल समानान्तर रुपमा चल्नेछन्। छलफल अन्तर्गत नै अभिनेता राजेश हमालले पनि आफ्नो फिल्मी यात्राका आरोह अवरोहका बारेमा दर्शकलाई अनुभव सुनाउनेछन्। यसका लागि हमाल फागुन ४ गते आइतबारका दिन उपस्थित हुनेछन्।
नेपाली फिल्मको रचनात्मक विकासको उद्देश्यसहित हुन लागेको फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।