जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउने बताएका छन्।
सामाजिक विकास मन्त्रालयले बुधबार जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने बताउँदै अबको दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति बनाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन दिए।
प्राविधिक शिक्षाका लागि सिटिइभिटीले विभिन्न बखेडा झिक्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति बमोजिम प्राविधिक शिक्षाका लागि निश्चित मापदण्ड अनुरुप अनुमति दिने व्यवस्था गरिने बताए।
मुख्यमन्त्री राउतले भने, 'प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैंमा दक्ष हुन्छन् र त्यसले प्रदेश तथा मुलुकलाई समेत फाइदा पुग्छ।' उनले प्राविधिक शिक्षालाई प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको जानकारी दिए।
प्रदेश २ मा २ लाखभन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक उदेक लाग्दो रहेको मुख्यमन्त्री राउतले बताए। उनले सबै बालबालिकालाई विद्यालयमा पुर्याभउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा 'बेटी पढाउ, बेटी बचाउ', 'दलित बालबालिकाका लागि विशेष शिक्षा' जस्ता योजनासहितको कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए।
समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दहाल, समाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेती, प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंहसहितका वक्ताले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।