दिल्ली- ‘ब्ल्याक’ रिलिज भएको १५ वर्ष पुगेको अवसरमा रानी मुखर्जीले भनिन्‚ ‘भन्सालीले मलाई खुवाउँदै सट लिन्थे।’
‘यो फिल्मले मलाई जिन्दगीको अर्थ बुझाएको थियो। भन्साली र म दुवै फुडी छौं। यो कुरा भन्सालीलाई थाहा थियो। त्यसैले उनले सँधै मलाई खुवाउँदै राम्राराम्रा सट लिने गर्थे,’ फिल्म रिलिज भएको १५ वर्षपछि उनको यो भनाइ बाहिर आएको हो।
सन् २००५ फेब्रुअरी ४ मा प्रदर्शनमा आएको फिल्म ‘ब्ल्याक’ रिलिजको १५ वर्ष पूरा भएका अवसरमा रानीले भारतीय मिडियासँग उसबेलाका किस्सा सेयर गर्दै यस्तो बताएकी हुन्।
रानीले सो फिल्म आफ्नो जीवनकै सबैभन्दा मन परेको फिल्ममध्येको एक भएको उल्लेख गरिन्।
उनले 'ब्ल्याक' फिल्म अमिताभ बच्चनसँगको आफ्नो पहिलो फिल्म भएकाले पनि आफूलाई यो बढी मन परेको उल्लेख गरेकी थिइन्।
'यो फिल्म मेरा लागि सँधै खास नै रह्यो,' उनको भनाइ छ।
फिल्मले आफूलाई असल साथी दिएको भन्दै उनले उक्त फिल्ममा काम गरेपछि सञ्जय भन्साली आफ्नो असल मित्र भएको बताएकी हुन्।
फिल्ममा रानीले मुख्य रोलको अभिनय गरेकी छन् भने भन्सालीको निर्देशनमा सो फिल्म निर्माण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।