काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलक रुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।
उनले पार्टीका महिला नेता कार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए।
वर्तमान सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले बताए। सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, ‘म खुला रुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।’
अध्यक्ष ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे।
उनले भने, ‘पार्टीमा अध्यक्ष छु। प्रधानमन्त्री छु। निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ। को बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा हाम्रो ध्यान छैन।’
आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेत्रीलाई आग्रह गरे।
उनले छाउपडीजस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताए। सो सङ्घको एकतापछि चार हजार ४ सय ७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले मंगलबार शपथ ग्रहण गरेका छन्।
सङ्घका अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।