काठमाडौं- नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी करिष्मा मानन्धरको आज जन्मदिन हो। कति वर्षकी भइन् उनी? तनले मात्रै होइन, मनले समेत उमेर घटाइरहेकी उनको उमेर अनुमान गर्न सजिलो छैन। मनले उनी भर्खर टिनएजमा छिन्। एसएलसी सकेर प्लस टु पढिरहेकी युवती। आफूलाई फिट एन्ड फाइन राखिरहेका कारण उनी स्वभाविक भन्दा कम उमेरकी देखिन्छिन्।
उनी करिष्मा भएको ३१ वर्ष भयो। त्यसअघिको उमेरमा बुनु केसी थिइन्। बुनु केसी हुँदा हराएका दिनहरु करिष्मा अहिले खोजिरहेकी छिन् र गइरहेकी छिन् त्यो उमेरमा बुनु जानुपर्ने स्कुल। करिष्मा यतिबेला बुनु केसीको जीवनमा फर्केकी छिन्।
काठमाडौँ, बत्तीसपुतलीकी बुनु केसीलाई फिल्म के हो, थाहा थिएन। उनका छिमेकी प्रकाश अधिकारी फिल्मका लागि ‘ट्राई' गरिरहेका थिए। चौध वर्षीया बुनुमा अधिकारीले हिरोइनका गुण देखे। प्रकाश थापाले निर्देशन गर्ने फिल्म ‘सन्तान'का लागि अञ्जली श्रेष्ठ र अधिकारीले आफूसँग बुनुलाई लिएर स्क्रिन टेस्ट गराए।
बुनु छानिइन्। फिल्ममा अभिनय गर्ने भएपछि बुनु करिश्मा भइन्। करिश्माको करिश्मा (आकर्षक व्यक्तित्व)ले अहिलेसम्म जादु छरिरहेको छ। करिश्मा अचेल कुनै व्यक्तिको नाम नभई ‘नेपाली हिरोइन'को पर्यायवाची शब्द जस्तो भएको छ। नेपाली फिल्ममा ३१ वर्षसम्म हिरोइनका रूपमा आफूलाई टिकाइराख्ने एक्ली हुन् उनी।
आजपर्यन्त उनमा यथावत् सौन्दर्य र ऊर्जाको धेरैले प्रशंसा गर्छन्। उनको ठाँटबाँट भव्य छ। त्यसैले कुनै बेला उनी गार्मेन्टमा काम गर्थिन् भन्दा नपत्याउनेको संख्या ठूलो हुन सक्छ। करिश्मा ती दिन सम्झन्छिन्, ‘सिंगल ममलाई सघाउन म स्कुलको छुट्टीमा गार्मेन्टमा काम गर्थें।'
‘पहिला दुई फिल्म ‘सन्तान' र ‘मायालु'मा मैले अभिनय होइन, क्यारिकेचर गरेँ,' करिश्मा भन्छिन्। निर्देशकको ‘आज्ञा शिरोपर' गर्दागर्दै दुइटा फिल्ममा हिरोइन भइसकेपछि करिश्मालाई फिल्मको अफर बढेको बढ्यै हुन थाल्यो।
करिश्माले दुःख जानेको मात्रै होइन, झेलेकी थिइन्। सफल हुन सम्बन्धित क्षेत्रमा दुःख गर्नुपर्छ भन्ने महसुस हुन थाल्यो उनलाई। उमेर परिपक्व भएपछि हिरोइन हुन नाच्न र अभिनय गर्न जान्ने हुनुपर्छ भन्ने बुझिन्। डान्स र अभिनय सिक्न मुम्बई जानुको विकल्प थिएन त्यतिबेला। गरिखाने परिवारकी करिश्माले त्यो ‘एफोर्ड' गर्न सक्दिन थिइन्। कसैले उनलाई उपाय बताइदियो, ‘प्रेक्षा सरकारलाई बिन्ती चढायो भने सुनुवाइ हुन सक्छ।' करिश्माले त्यस्तै गरिन्। मुम्बई जान सहयोग पाइन्।
मुम्बईस्थित मधुमति डान्स सेन्टरमा डान्स र अभिनय सिकिन्, सात महिना। यही बीचमा भारतीय फिल्मकर्मी सुनील अग्निहोत्रीका आँखामा परिन् उनी। एउटा सानो भूमिकामा उनले काम गरिन्। सीमित फिल्म बन्ने नेपालमा एकैचोटि फिल्म निर्माणको बाढी आयो। करिश्मालाई मुम्बईसम्म अफरको ओइरो लाग्न थाल्यो। नेपालमा आएर लगातार फिल्ममा काम गर्न थालिन्। राजेश हमालसँगको उनको ‘केमेस्ट्री' अत्यधिक रुचाउन थालियो। यो सिलसिला एक दशकभन्दा बढी चल्यो। करिश्माका खातामा दर्जनौँ सफल फिल्मका नाम थपिए।
करिश्मा आफ्नो सफलताको सूत्र सकारात्मक सोच र धैर्यलाई मान्छिन्। ‘हावा नचले पनि पात हल्लाइने' नेपाली फिल्म क्षेत्रमा आएको प्रवृत्ति, आफ्नै लगानीमा बनाएको फिल्म ‘बाबुसाहेब'ले सहेको घाटाले करिश्माको धैर्य टुट्यो। नेपाली फिल्मप्रतिको सकारात्मक सोचमा पनि तलमाथि हुन थाल्यो। २०६१ सालमा करिश्मा अमेरिका लागिन्। भन्छिन्, ‘आफ्नै फिल्म बनाउँदा तीन वर्ष लाग्यो, त्यसमाथि मैले नेपाली फिल्मको दुनियाँ चोभार नगरकोट, पोखराभन्दा पर पुग्ने अवसरै नपाउने भएँ जस्तो लागेर अमेरिका गएँ।'
धेरैको जस्तो पैसा कमाउन अमेरिका पसेको भन्दा पनि ‘रिफ्रेस' हुनका लागि फिल्म दुनियाँबाट टाढिएको उनले बताइन्। केही वर्ष करिश्मा अमेरिकामै बसिन्। धेरै कलाकार केही महिना निरन्तरता टुट्नेबित्तिकै बिर्सिइन्छन् तर करिश्मालाई पाँच वर्षसम्म पनि नेपाली फिल्म क्षेत्रले बिर्सेन। फेरि उनको उत्तिकै सक्रियता दोहोरियो।
अभिनेत्रीका रुपमा सदा सफल करिष्मा नेतृ हुन अघि सरिन्। तर राजनीतिमा अपेक्षित सफलता हासिल गर्न सकिनन् । केही वर्षको राजनीतिक सक्रियतालाई यतिबेला निष्क्रिय बनाएकी छिन्। तर, फिल्म क्षेत्र भने भुलेकी छैनन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।