काठमाडाैं- चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार पत्रकार सम्मेलन गरेर नेपाल फर्किनका लागि फारम भरेका सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको हाे। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने र परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने जनकारी दिए।
‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ। यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यहीं उपचार हुन्छ। बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उनले भने। अहिलेसम्म सबै सुरक्षीत रहेको प्रवक्ता श्रेष्ठले बताए। नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए। ‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ। उहाँहरु सबै स्वस्थ हुनुहुन्छ। आइसोलेसनमा हो संक्रमित राख्ने’, श्रेष्ठले भने।
मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ। मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए। हालसम्म भक्तपुरको विद्युत् तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको हल, कीर्तिपुर आयुर्वेदिक अस्पताल सम्भावित सुरक्षित स्थानको सूचीमा छन्। एउटा कोठामा तीन जनाभन्दा बढी मानिसलाई राख्न नमिल्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए। यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।