काठमाडौं– ३५ वर्षअघि प्रदीप रिमालको निर्देशनमा तयार भएको थियो–फिल्म ‘के घर के डेरा’। अहिले पुनः यही नाममाथि निर्देशक सुब्रतराज आचार्यले फिल्म बनाउने भएका छन्।
सोमवार राजधानीमा एक औपचारिक कार्यक्रमका बीच निर्माण टिमले फिल्म निर्माणको घोषणा ग¥यो। फिल्ममा अभिनेताद्धय दयाहाङ राई र विपिन कार्की ‘टिमअप’ रहने जानकारी दिइयो। यसअघि उनीहरुले फिल्म ‘जात्रै जात्रा’ मा पनि सँगै काम गरेका थिए।
त्यस्तै ‘जात्रैजात्रा’ उनीहरुसँग अभिनय साझेदारी गरेकी वर्षा समेत यो फिल्ममा लिड रोलमा देखिनेछिन्। फिल्ममा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।
‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको यो फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो। सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन्।
काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्ममा दिर्घ वीर गुरुङ छायांकन, मित्र डि. गुरुङको सम्पादन र शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन रहनेछ।
त्यस्तै फिल्ममा डिपी खनाल तथा निर्देशक आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ।
यसअघि ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका आचार्यको यो तेश्रो प्रोजेक्ट हो। उनले दर्जनौँ म्यूजिक भिडियोको निर्देशनसमेत गरिसकेका छन्।
फिल्मको कथा र भूमिका आफूलाई मनपरेका कारण यो फिल्मसँग जोडिएको कार्यक्रममा अभिनेताद्वय दयाहाङ र विपिनले खुलाए। त्यस्तै वर्षाले फिल्मलाई लिएर आफु निकै उत्साहित रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।