काठमाडौं– फागुन ३० गते रिलिजको तयारीमा रहेको फिल्म 'नीरफूल’को अफिसियल फस्टलुक सार्वजनिक भएको छ।
भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन्। गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन्।
सार्वजनिक चार पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ। रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन्। निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए। अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको उनको दावी छ।
फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।