काठमाडौं– ८ महिनायता अभिनेत्री वर्षा राउतका कुनै फिल्म रिलिज भएनन्। अभिनेता संजोग कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएपछि उनी ‘ग्याप’ बसिन्।
फिल्म ‘जात्रैजात्रा’ रिलिजको ८ महिनापछि अहिले उनी लगातार फिल्म साइन गरिरहेकी छिन्। यही माघ महिनामा मात्रै उनका दुइटा फिल्म घोषणा भइसक्यो।
माघको दोस्रो साता दिपेन्द्र लामाले निर्देशन गर्नेे ‘२ नम्बरी’ घोषणा भएको थियो भने सोमबार सुब्रतराज आचार्यको निर्देशनमा बन्ने ‘के घर के डेरा’ घोषणा भयो। दुवैमा उनी प्रमुख भूमिकामा देखिँदैछिन्।
सोमबार ‘के घर के डेरा’को प्रेस मिटमा वर्षालाई पत्रकारले सोधे– ‘८ महिना ग्याप बसेकी वर्षा अहिले किन लगालग फिल्म गरिरहेकी छिन्?’
जवाफमा वर्षाले मुस्कुराउँदै भनिन्, ‘अझै एउटा फिल्ममा कुरा भइरहेको छ। खासमा म योबीचमा ग्याप बस्दा धेरैले धेरैखाले प्रश्न गरे। कतिले बिहे गरेपछि काम नपाएको टिप्पणी समेत गरे। बिहेपछि काम नपाएको टिप्पणी गर्नेहरुलाई जवाफ दिन पनि मैले यि फिल्महरु गरिरहेको हो।’
वर्षाले पछिल्लो समय फिल्म नगर्दा अनेक प्रश्नहरुको सामना गर्नुप-यो। कतिले उनलाई सोधे, ‘तपाईलाई फिल्ममा किन नलिएको?’
जहाँ जाँदा पनि धेरैको एउटा प्रश्न आयो, ‘तपाईको अर्को फिल्म कहिले आउँछ?’
यि प्रश्नहरु सुन्दासुन्दा थाकेकी वर्षा अहिले यिनै प्रश्न गर्ने मिडियाकर्मीहरुलाई ‘न्यूज’ दिनका लागि लगातार फिल्म साइन गरिरहेको बताउँछिन्। ‘हो, बिहेपछि फिल्ममा काम नपाएको भन्नेहरुलाई न्युज दिनकै लागि नै म लगातार फिल्म साइन गरिरहेकी छु,’ वर्षाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।