काठमाडौं- धादिङको गजुरी गाउँपालिका–८ बस्नेतगाउँ बस्ने २८ वर्षीय हरिकृष्ण भनिने हेमन सिंह बस्नेत पेसाले सवारी चालक हुन्।
उनी हेभी इक्युपमेन्ट (डोजर, स्काभेटर) चालउँछन्। नेपालमा थारै कमाई हुने भन्दै उनले विदेश जाने निधो गरे। वैदेशिक रोजगारीमा कुवेतका लागि उनको भिसासमेत लाग्यो।
त्यसपछि घर तथा आफन्तबाट फूलमाला र टिका लगाएर उनी बिदा भए। तर दुर्भाग्य, उनी कुवेत जान पाएनन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाँचका क्रममा उनको नाम ठेगाना अभियुक्तको सूचीमा रहेको पाइएपछि अध्यागमनले हरिकृष्णलाई प्रहरीको जिम्मा लगायो।
कुवेत हिँडेका हरिकृष्ण अन्ततः गम्भीर अपराधमा प्रहरीको हिरासतमा पुगेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका अनुसार हरिकृष्णले गजुरी गाउँपालिका–८ की एक किशोरीलाई बलात्कार गरेका थिए।
गत जेठ १४ गते घरमा सुतिरहेकी १६ वर्षीया किशोरीलाई हरिकृष्णले रातिको ३ बजे ढोका फोडर भित्र पसी बलात्कार गरेकाे आरोप लागेको छ।
त्यसपछि फरार भएका हरिकृष्ण भागेर भारत पुगेका थिए।
त्यहाँ ८ महिना बिताएपछि वैदेशिक रोजगारीमा काठमाडौंबाटै कतार जान लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
जबरजस्ती करणीको कसुरमा कारबाही गर्न उनलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।