काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थामा अनुसन्धान र विकासका काम कमजोर रहेको बताएका छन्।
नेपाल टेलिभिजनको ३५औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। नेपाल टेलिभिजनले अनुसन्धान गरेर कार्यक्रम उत्पादन गर्नुपर्नेमा उनको जोड थियो।
'सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर छ। नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर छ,' उनले भने, 'टेलिभिजन स्थापना भएको हिसाबले पहिलो नेपाल टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाइमा पहिलो हुनुपर्ने चुनौती छ।' त्यसका लागि दक्ष जनशक्ति आवश्यक रहेको उनको भनाइ छ।
दर्शक, पाठक र स्रोताको रुचिअनुसार कार्यक्रम उत्पादन गर्न जोड दिनुपर्ने उनको धारणा थियो।
'सरकारले सहयोग गरेका र सरकारसँग जोडिएका अधिकांश यस्ता संस्थामा 'आर एन्ड डी' (अनुसन्धान तथा विकास) भन्ने चाँहि एकदमै कमजोर छ। हाम्रो मुख्य फोकस अब त्यता हुनुपर्दछ। मैले आज यो कुरा टेलिभिजनमा भनेँ। अन्त पनि भन्नु छ। यो मेरो वर्षभरिको मुद्दा हुनेछ। पटक पटक दोहोर्याई रह्यो भनेर यस्तो संस्थाको नेतृत्व गर्ने साथीहरूले नभन्नुहोला।’
नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्था सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको मन्त्री बाँस्कोटाको भनाइ थियो।
विश्व समुदायमा नेपालसम्बन्धी जानकारी लिन चाहनेका लागि अंग्रेजी माध्यममा विश्व समाचार च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याउने तयारी रहेको समेत मन्त्री बाँस्कोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।