काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले आफ्नो उमेरलाई गलत तरिकाले प्रचार गरिएको भन्दै दुखेसो पोखेका छन्।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समितिको अध्यक्ष ढुङ्गानालाई बनाएपनि उनको उमेरको विषयमा अनेक टिप्पणी भएका थिए। ‘मेरो उमेरलाई गलत प्रचार गरियो। यस अघिका अध्यक्ष नैनसिंह र मेरो उमेर समान हो।’ नेपाल लाइभसँग उनले भने, ‘वास्तविक उमेर ४६ हो। ५६ वर्षसमेत भनेर दुष्प्रचार गरियो।’ मिडियामा समेत आफ्नो वास्तविक उमेर नसोधि समाचार आएको उनले बताए।
विश्वविद्यालयको अध्ययन सकेको झण्डै २० वर्ष भएपनि विद्यार्थी राजनीतिमा भने निरन्तर रहेको उनकाे भनाइ छ। उनले भने, ‘यो सेमेष्टरको यो विषयको विद्यार्थी भन्नको लागि भने अहिले छैन।’ विद्यार्थी राजनीतिका लागि आफ्नो समय सकिएको ढुङ्गानाले स्वीकार गरे।
२/२ वर्षमा महाधिवेशन गर्न नसकेपछि विगतमा पनि धेरै जना तदर्थ समितिमार्फत अध्यक्ष बनेको बताउँदै आफ्नो निरन्तरता त्यसै अनुसार भएको उनले जानकारी गराए। पार्टीसँग समन्वय गर्न सक्ने र संघलाई मिलाएर लान सक्ने भएकाले पार्टी सभापति देउवाले आफूलाई रोजेको हुनसक्ने उनको बुझाई छ।
‘ममा विशेष खुबी भएर पार्टी सभापतिले रोज्नु भएको त भन्दिन। इमान्दारिता र निरन्तरताबाट प्रभावित भएर जिम्मेवारी दिएको हुनुपर्छ,’ उनले भने, ‘पार्टीलाई भ्रमित पारेर म नेतृत्वमा आएको होइन।’ १२औं महाधिवेशनका लागि गत वर्ष भएका जिल्ला अधिवेशनको वैधानिकता रहने उनले प्रष्टाए।
संगठनको आर्थिक अपारदर्शिता अन्त्य र संगठनभित्र शुद्धिकरण अभियान चलाउने उनले बताए। शुद्धिकरणको अभियानको क्रममा गलत व्यक्तिलाई कारबाही गर्दा पार्टी शीर्ष तहका नेताले आफ्नो भनि संरक्षण नगरिदन उनले नेतृत्वलाई आग्रह गरे।
नेविसंघको अवस्था दयनिय नभएको उनकाे दाबी छ। आगामी स्ववियु निर्वाचनपछि नेविसंघ सबैभन्दा ठूलो विद्यार्थी संगठन हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।