राजविराज– सरस्वती पूजाको प्रसाद खाँदा 'फुड पोइजन' भएर सप्तरीको सुरुङ्गा नगरपालिकामा करिब ७० जना बिरामी परेका छन्।
सुरुङ्गा नगरपालिका-७, हरिपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावक बिरामी भएको मेयर मुक्तिनाथ चौधरीले जानकारी दिए।
फुड पोइजनिङ भएका बिरामी शनिबार साँझदेखि नै देखिएका थिए।
आइतबार बिहानदेखि बिरामीको संख्या अत्यधिक बढेको प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरले जनाएको छ।
आइतबार ३ बजेसम्म बिरामीको संख्या ६७ पुगेको स्वास्थ्यकर्मीले जनाएका छन्।
स्वास्थ्य संस्थामा बिरामीको चाप बढेपछि विद्यालयमै राखेर उपचार सुरु गरिएको छ।
नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचारमा संलग्न भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयको टोली पनि हरिपुर पुगेको मेयर चौधरीले बताए।
बिरामीको संख्या बढ्दै गए पनि अवस्था नियन्त्रणमै रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।