काठमाडौं- नेपाल विद्यार्थी संघको तदर्थ समितिमा आफ्नो पक्षलाई प्राप्त महामन्त्रीका नाम वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले टुंग्याएको छ। आइतबार दुवै पक्षले नेविसंघ महामन्त्रीमा जाने नेताहरूको नामलाई अन्तिम रूप दिएका हुन्। सिटाैला पक्षले उपसभापतिसमेत टुंगाे लगाएकाे छ।
पाैडेल पक्षले प्रभात दाहाल, उर्मिला थपलिया र दीपक भट्टराईलाई महामन्त्री बनाउने निर्णय गरेको हो। दाहाल नेपाली कांग्रेसको गत महाधिवेशनमा मकवानपुर जिल्ला सभापतिमा पराजित भएका व्यक्ति हुन्। उनले तेश्रो स्थानको मत ल्याएका थिए। दाहाल नेता प्रकाशमान सिंह निकट हुन्। महामन्त्री नै बनेकी थपलिया पार्टी महामन्त्री डा शशांक कोइराला निकट हुन्। उनी नेविसंघको पूर्व उपाध्यक्षसमेत हुन्। भट्टराई वरिष्ठ नेता पौडेल निकटका विद्यार्थी नेता हुन्। नेता रामचन्द्र पौडेल र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो।
तदर्थ समितिमा पठाउने व्यक्तिहरूको नाम टुंग्याउन पौडेलले आफू निकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई जिम्मेवारी दिएका थिए। जोशी आइतबारबाट भारत गएकाले अन्य पदाधिकारी तथा सदस्यको नाम स्ववियु निर्वाचन पछि टुंग्याउने बताइएको छ।
उक्त समूहबाट महामन्त्रीको आकांक्षीमा हिमालदत्त श्रेष्ठ, प्रकाश राना, लिलाबल्लभ दाहाल, मोति भण्डारी, दीपक भण्डारी, मनोहरि श्रेष्ठ, विनिता अधिकारी थिए। साथै सन्तोष पाण्डे, सञ्जीव यादव, विनय भट्ट, सागर परियार, नवीन राई, हरिहर शर्मालगायत महामन्त्रीको लाइनमा थिए।
कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेय भएका छन्। साेही समूहबाट उपसभापतिमा तुलसा पन्त र मुक्तिप्रसाद पौडेल चयन भएका छन्। देउवा र पौडेल पक्षले भने उपसभापति चयन गर्न सकेका छैनन्।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३/३ महामन्त्री र सिटौला पक्षलाई २ महामन्त्री बाँडफाँट गर्ने सहमति नेताहरूबीच भएको छ। उपाध्यक्षमा भने तीनै समूहले २/२ जना लिएर भागबन्डा मिलाएका छन्। सहमहामन्त्री पनि तीनै समूहले २/२ जना बाँड्ने भएका छन्। ६० जना सदस्य सभापति देउवा समूहबाट, ४० जना पौडेलबाट र ३० जना सिटौला समूहलाई हुने गरी केन्द्रीय सदस्य बाँडफाँट मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।