काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको निम्तो दिएको छ।
आइतबार साँझको भोजमा अनिवार्य उपस्थित हुन पनि नेकपाले भनेको छ।
मोबाइल म्यासेजमार्फत प्रवाह गरिएको सन्देशमा भोजका लागि ‘ह्विप’ नै जारी गरिएको छ।
'२०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन', रोमनमा लेखिएको मोबाइल म्यासेजमा भनिएको छ।
नेकपाका एक सांसदले विशेष अवसरविनाको म्यासेज आउँदा अनौठो लागेको बताए।
कतिपय सांसदहरुले भने आफूलाई सन्देश नआएको प्रतिक्रिया दिएका छन्।
नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ। बैठक आजै साँझ सकिने तालिका छ। बैठकमा एमसिसीको विषय चर्को गरी उठेको सन्दर्भमा सांसदहरुलाई त्यसका विषयमा प्रशिक्षित गर्ने अभिप्राय भोजको हुनसक्ने विश्लेषण भइरहेका छन्। एमसिसीलाई संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा नेता तथा सांसदहरुबीच फरक मत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।