काठमाडौं– चलचित्र विकास बोर्डबाट निर्माण अनुमति नपाएर रोकिएको ‘दासढुङ्गा–२’ अन्ततः नबन्ने भएको छ।
९ महिनाअघि निर्माण घोषणा भएको यो फिल्म चलचित्र विकास बोर्डले निर्माण इजाजत दिन आनकानी गर्दा बन्न सकिरहेको थिएन।
तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनामा आधारित भएर यो फिल्म निर्माण गर्ने तयारी थियो।
फिल्म निर्माणको अनुमति दिने अधिकार आफूमा निहित हुँदाहुँदै बोर्डले मदन भण्डारीका नाममा स्थापित दुइ संस्था मदन भण्डारी फाउन्डेशन र मदन भण्डारी स्मृति प्रतिष्ठानलाई राय–सुझावका लागि फिल्मको कथासार पठाएको थियो। फाउन्डेशनहुँदै उक्त स्क्रिप्ट राष्ट्रपति विद्यादेवी भन्डारीको कार्यलयसम्म पुगेको चर्चा थियो।
सम्बन्धित पक्षबाट राय–सुझाव आइनपुगेको भन्दै बोर्डले फिल्म निर्माण पक्षलाई इजाजतमा झुलाउँदै आइरहेको थियो। अपिल विष्टले निर्माण गर्ने यो फिल्मको निर्देशन कुमार भट्टराइले गर्ने तयारीमा थिए।
फिल्म निर्माण अनुमति नपाएर आफ्नो सिर्जनालाई गर्भमै तुहाउन खोजिएको भन्दै यो फिल्मलाई लिएर सार्वजनिक कार्यक्रममै निर्देशक भट्टराई रोएका थिए। तैपनि फिल्मसँग सम्बन्धित संघसंस्था यो विषयमा मौन थियो।
‘अब मैले हार खाएँ,’ फिल्म निर्देशक भट्टराइले भने, ‘यस्तो गर्ने भए फिल्म बनाउन दिन्छौँ भनेर सम्बन्धित संस्थाहरुबाट लिखित सर्तहरु आएका छन्। तर, उनीहरुले प्रस्तुत गरेका सर्तहरु मान्दा मेरो फिल्मको मर्म नै मर्ने भयो। त्यसैले अब यो फिल्म बन्दैन।’
सरकारलाई रिझाउनुपर्ने अवस्था सिर्जना भएपछि फिल्म नै नबनाउने निर्णयमा पुगेको भट्टराईको भनाई छ। उनका अनुसार हाल अमेरिकामा रहेका निर्माता अपिल विष्ट पनि फिल्म नबनाउने पक्षमा पुगिसकेका छन्।
अहिले नबन्ने अवस्थामा पुगिसकेको ‘दासढुङ्गा–२’ को सार्वजनिक थिम पोस्टरले ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटना’लाई केलाउन खोजेको संकेत गरेको थियो। त्यसकारण पनि राज्य यो फिल्मको निर्माण इजाजत दिन डराएको अनुमान गरिएको थियो। फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना भन्ने प्रश्नको जवाफ पनि खोज्ने निर्माण युनिटको दाबी थियो।
‘हामीले सिनेमामा कुनै अतिरन्जित कुरा देखाउन खोजेका छैनौं,’ निदेशक भट्टराइले एक फिल्म सम्बन्धी बहस कार्यक्रममा नेताहरुसँग गुनासो गर्दै भनेका थिए,‘हामीले फिल्ममा यसले मारेको, उसले मारेको भनेर कहीँकतै भन्न खोजेका छैनौं। मात्रै अन्त्यमा एमालेबाट जो–जो पटकपटक सत्तामा आउनुभयो, उहाँहरुलाई प्रश्न गर्ने जमर्को गरेका छौं। अब हामीले नेताहरुलाई प्रश्न गर्न किन नपाउने? तपाईंहरु मदन भण्डारीको नाम बेचेर अहिले सत्तासम्म आइपुग्नुभयो, हामीचाहिँ फिल्म बनाउन पनि नपाउने? पाउँदिन भने किन नपाउने?’
मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप ‘दुर्घटना’मा परि मृत्यु भएको थियो। त्यसयता सरकारी र नागरिक स्तरमा विभिन्न छानबिन समिति बने पनि दुर्घटनाको सत्यतथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन। जिपचालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि यो घटना झन् रहस्यमय अवस्थामा छ।
‘दासढुङ्गा’को पहिलो संस्करण सन् २०१० मा मनोज पण्डितले निर्देशन गरेका थिए। पहिलो संस्करणमा समेट्न नसकिएका विषय दोश्रोमा समेट्ने तयारीअनुरुप फिल्म निर्माण गर्ने घोषणा भएको थियो।
तर, बोर्डमा निर्माण अनुमति नदिएपछि अहिले फिल्म निर्माण पक्ष फिल्म नै नबनाउने अवस्थामा पुगेको हा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।