जनकपुर- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरद् सिंह भण्डारीले प्रदेश २ मा राजपाको समीकरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा सँग बन्न सक्ने बताएका छन्।
महोत्तरीको भङ्गहा नगरपालिका सिंग्याहीस्थित रातो पुलको शिलान्यास कार्यक्रममा शनिबार बोल्दै नेता भण्डारीले समाजवादी र राजपा नेतृत्वको वर्तमान सरकारले मधेस आन्दोलनको मर्म र जनताको भावना अनुरुप काम गर्न नसकेकोले सरकारको मूल्यांकन गर्दै पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले भने, ‘नेकपासँगको समीकरणको विषयमा हामीले निषेधको राजनीति गरिरहेका छैनौँ। त्यसैले यो सम्भावनाबाट पनि इन्कार गर्न सकिँदैन।’
भण्डारीले निर्वाचनताका जनतासँग मधेस सरकार बनाउन गरेको प्रतिबद्धताअनुसार नै आफूहरुले सरकार गठन गरे पनि जनताले चाहेअनुसार विकास र परिवर्तन प्रदेश सरकारले पूरा गर्न नसकेको बताए। उनले भने, ‘प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यहरुले नै यो कुरो स्वीकार गरिरहेकाले सरकारको विषयमा पुनर्विचार गर्नु अपरिहार्य छ।’
उनले राष्ट्रियसभा निर्वाचनको क्रममा राजपाले नेकपासँग दुई बुँदे सहमति गरे अनुसार सहकार्य गरेर देखाई सकेकोले अब नेकपाले सहकार्यको वातावरण बनाउनुपर्ने बताए। भण्डारीले भने, ‘राष्ट्रियसभा निर्वाचनको क्रममा नेकपालाई सघाएर सहकार्यको बाटो खुलिसकेकोले संविधान संशोधनको मुद्दा, रेशम चौधरीको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दालगायतमा सरकारले सकारात्मक सोच देखाए संघ सरकारमा समेत हामी जान तयार छौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।