काठमाडौं- त्यतिबेला सिए बन्न दिल्ली गएको भए आजका सफल उद्योगी बन्ने थिएनन् विनोद चौधरी। पारिवारिक समस्याका कारण उनी सिए बन्न त पाएनन्। यद्यपि, उनको बाटो बदलियो, गन्तव्य बदलिएन। ‘त्यतिबेला म सिए बन्न त पाइनँ। अहिले मेरो अफिसमा ५० भन्दा बढी सिए छन्,’ उनी सम्झन्छन्।
किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा २०२०’ को चौथो सेसनमा सहभागी थिए चौधरी। सेसनको नाम थियो– बुक, बिजनेस एन्ड बिलिनियर। प्रश्नकर्ता थिए सञ्चारकर्मी टीकाराम यात्री।
चौधरी ग्रुप अहिले संसारका विभिन्न देशमा फैलिएको छ। खुसीको कुरा त, चौधरी जुन देशमा होटल निर्माण गर्छन् त्यहाँ नेपालको झण्डा फहराएर छाड्छन्।
१ सय ३० वटा होटलमै झन्डा फहराउने उनको योजना छ। भन्छन्, ‘हरेक नेपाली नेपालबाहिर बसेकाले खोज्ने भनेको स्भाविमान हो।’
एकपटक दुबईमा होटल उद्घाटन गर्ने बेलामा भारतीय लगानीकर्ताले भारतको झन्डा होटलमा फराउने कुरा गरे। तर विनोदले दृढताका साथ भने, ‘होइन, यहाँ नेपालको झन्डा राख्नुपर्छ।’
नेपालको झन्डा राख्छु भनेर दृढ भएपछि सबैले ताली पिटे। उनले नेपालको झन्डा राखेपछि निकै आनन्द आयो। मलाई लाग्यो कि प्रत्येक नेपालीले त्यो झन्डालाई देखेपछि छाती चौडा होस्,’ उनले भने।
जीवनको सक्रिय समय बिजनेसमा पहिचान बनाएका विनोदको मत छ- हामी बुद्ध र सगरमाथाको नामले मात्र चिनिएर हुन्न। सफल उद्यमी भएर पनि संसारभर चिनिनुपर्छ।
गरिब देशका एक्लो अर्बपतिभन्दा फरक पर्दैन उनलाई। तर, विनोदलाई विदेश जाँदा यही कुराले अफ्ठेरोमा पार्छ। मान्छे मात्र अर्बपति भएर हुन्न। देश पनि त...? भन्छन्, ‘धेरै प्रश्न त कतिपय आशययुक्त अनुहारले मलाई सोध्छन्।’
विनोदको अर्को परिचय हो, सांसद। नेपालको परिवर्तनमा आफ्नो आवश्यकता रहेर राजनीतिमा पनि हात हालेको उनको मत छ। उनी नेपालका जहाँ जहाँ गए। लाग्यो, हरेक चिजलाई राजनीतिले निर्देशन गर्ने रहेछ। 'ठूलो स्तरमै परिवर्तन आवश्यक रहेकाले राजनीतिमा लागेँ,' उनको भनाइ छ।
उद्यममा सधैं व्यस्त देखिन्छन् अर्बपति चौधरी। सफल बन्नकै लागि नयाँ उद्यमी र सपना देख्नेहरुलाई उनको सुझाव छ- अनुशासन, समय व्यवस्थापन। यसका साथै आफूले रोजेको बाटोको गहिरो ज्ञान पनि आवश्यक रहेको उनको भनाइ छ। 'म कहाँ गइरहेको छु? त्यसमा अवसर र चुनौतीबारे तपाईंलाई थाहा हुनुपर्यो,' उनले भने, 'तपाईं प्रतिबद्ध हुनुस्-कि सफल नभइन्जेल म लागिरहन्छु। तपाईंलाई सफलताले पछ्याउनेछ।'
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।