जनकपुर- स्वतः स्थायी सहितका विभिन्न माग अघि सार्दै अस्थायी, करार, ज्यालादारीका कर्मचारीहरुले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।
शनिबार जनकपुरधाममा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ द्वारा आयोजित भेलालाई सम्बोधन गर्दै कर्मचारी स्वतः स्थायी, समाजिक सुरक्षा कोष र उपदान तथा क्षतिपूर्तिको माग राख्दै उनीहरूले चेतावनी दिएका हुन्।
एउटै टेबलमा काम गर्ने कर्मचारीलाई निजामति र अस्थायी तथा करार भनी राज्यले उपेक्षा गरेको गुनासो गर्दै उनीहरुले वर्षौंदेखि आफूहरु पनि निजामति सरह नै काम गर्दै आएकामा आफूहरुविरुद्ध विभेद भएको बताए।
कार्यालयको सबै काम ठप्प पारेर आन्दोलनको सुरुवात गर्ने उनीहरूले बताएका छन्।
संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ संयोजक नवराज केसीले भने‚ ‘संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहमा निजामति कर्मचारी सरह नै काम गर्दै आएका छौं तर राज्यले हामीलाई उपेक्षा गरी सेवा सुविधाबाट वञ्चित गरेको छ।’
‘कर्मचारी समायोजनका क्रममा रोजगारी खोसिएका ५ हजार कर्मचारीको पुनः व्यवस्थापन हुनुपर्छ। यदि तिनीहरु सहित अन्य करार तथा ज्यालादारी कर्मचारीको रोजीरोटी व्यवस्था सरकारले गरेन भने हामी देशभरिबाट नै वृहत आन्दोलनमा उत्रने छौं।’ कार्यक्रममा बोल्दै प्रदेश २ का संयोजक जितेन्द्र मिश्रले भने।
सो कार्यक्रममा प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदी, संघ संग आबद्ध प्रदेश २ का ८ वटै जिल्लाका प्रतिनिधि तथा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
३० वर्षदेखि देशभरिमा ३२ हजार तथा प्रदेश २ मा करीब १२ हजार अस्थायी, करार तथा ज्यालादारीमा खट्ने कर्मचारीहरु रहेका छन्। पछिल्लो पटक कर्मचारी समायोजनको क्रममा करीब ५ हजार कर्मचारीको जागिर खोसिसकिएको छ। संघले आफ्ना माग सम्बोधन गराउन पछिल्लो पटक ज्ञापनपत्रदेखि धर्नासम्मका आन्दोलनका कार्यक्रम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।