अभिनेत्री प्रियंका चोपडा केही दिनयता चर्चामा छिन्। कारण हो, ग्रामी अवार्डमा उनले लगाएको पहिरन।
गत जनवरी २६ मा अमेरिकाको लस एन्जल्समा भएको ग्रामी अवार्डमा प्रियंकाले लगाएको ‘ओपन ड्रेस’ संसारभर चर्चाको विषय बन्यो। धेरैले प्रियंकाको पहिरनलाई लिएर उडाए, ट्रोल बनाए। पति निक जोनससँग पुगेकी प्रियंकाले भने आफूले लगाएको पहिरनलाई लिएर रत्तिभर पछुतो मानेकी छैनन्।
र, ग्रामी पहिरनलाई लिएर चौतर्फी टिप्पणी भइरहेका बेला प्रियंकाकी आमा मधु चोपडाले पनि मुख खोलेकी छिन्। उनले छोरीको बचाउ गर्दै भनेकी छिन्, ‘प्रियंकासँग सुन्दर शरीर छ।’
डिएनए इन्डियाकाअनुसार आमा मधुले भनिन्, ‘छोरीमाथि ट्रोल गर्नेहरु कम्प्युटर पछाडी लुकेर टिप्पणी गर्ने अन्जान मान्छेहरु हुन्। मलाई लाग्छ, ति मान्छेहरु आफ्नो जीन्दगीमा खुशी छैनन्, त्यसैले अरुको कुरा काटेर आफूतिर ध्यान खिच्न चाहन्छन्। मलाई तिनीहरुप्रति कुनै चासो छैन।’
सर्वत्र आलोचना भइरहेका बेला प्रियंकाको पहिरनमाथि चर्चित फेसन डिजाइनर वेन्डेल रोड्रिक्सले पहिरन राम्रो रहेको भन्दै विशेष कमेन्ट गरेका थिए।
विशेष कमेन्टले मधु समेत खुशी देखिइन्। उनले भनिन्, ‘यस्तो टिप्पणीले म खुशी छु किनभने यसले छोरीलाई झन बलियो बनाएको छ। ऊ आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँचिरहेकी छे, अरुलाई असर नपु¥याइकन। यो उसको शरीर हो र यो सुन्दर पनि छ।’
प्रियंकाले उक्त पहिरन ग्रामी अवार्डका लागि लगाउनुअघि आफूलाई देखाएको समेत आमाले खुलाइन्। ‘त्यतिबेला मलाई यो थोरै रिस्की हो भन्ने त लागेका थियो तर अरुभन्दा राम्रो पनि लागेको होे,’ उनले भनिन्।
फेसन डिजाइनर रोड्रिक्सले प्रियंकाको यो विवादित पहिरनलाई बोल्ड र सुन्दर रहेकोभन्दै तारिफ गरेका थिए। खासमा प्रियंकाको यो पहिरन रल्फ एण्ड रुसोले डिजाइन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।