काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत हुँदैछ। ११ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने बैठकमा विभिन्न समूहका नेताहरुले समूहका सदस्यले दिएको सुझावका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्ने छन्।
यसअघि शुक्रबार बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन्।
बैठकले समूहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गर्ने छ। यस्तै बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिका बारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।