काठमाडाैं- मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ।
बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो।
दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले बताएको छ। मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। आज बिहान कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्प नजिक सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो।
कैलाली- लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ। शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएका हुन्।
चुहामा व्यापार गर्दै आएका चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ।
चौधरीको मृत्युपछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन्। शव पनि राजमार्गबाट उठाइएको छैन। मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।