काठमाडाैं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पार्टी एकताको बहस चलेकाे लामो समय भयाे। तर एकता अझै हुन सकेकाे छैन।
पार्टी एकताका सन्दर्भमा पत्रहरु साटासाट भएपनि एकता हुन नसकेकाे हाे। राजपाले पार्टी एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने सर्तअघि सारेपछि राेकिएकाे एकता प्रकृया समाजवादी सरकारबाट बाहिरिएपछि पनि अघि बढ्न भने सकेकाे छैन।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाको सर्तअनुसार नै सरकारबाट बाहिरिएको भएपनि राजपाले बोलचाल नै बन्द गरेको आरोप लगाए। नेपाल मधेसी निजामती कर्मचारी मञ्चको १३औं स्थापना दिवकसा अवसरमा आयाेजित कार्यक्रममा यादवले पार्टी एकताका लागि भनेर राजपाको सर्तअनुसार सरकार त्यागे पनि अहिले कुरा नै हुन नसकेको बताए।
‘पार्टी एकताका सबै कुरा टुंगो लागे पनि प्राविधिक कुरामा त्यती बेला रोकिएको थियो। राजपाले सरकार त्याग्नुपर्ने मुख्य सर्त राखेको थियो। तर अहिले सरकार त्यागेपछि राजपा भागी रहेको छ,' उनले भने, ‘सरकारमा हुँदा बोलचाल त हुन्थ्यो। तर अहिले भागे। खोज्दै गएको छु। पिछा गर्दै गएको छु भागी रहेका छन्।’ आफूहरुले सरकार छाडेको भोलिपल्ट एकता घोषणा हुने विश्वास लिए पनि भेटघाट नै बन्द भएको उनकाे भनाइ छ।
यता, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले द्वन्द्वकालमा एक अर्कालाई छातीमा गोली हान्ने एमाले र माओवादीको एकता सम्भव भएको अवस्थामा समाजवादी र राजपाको पनि एकता सम्भव रहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि पनि दुई पार्टीको एकता अनिवार्य रहेको उनकाे भनाइ छ।
सत्तारुढ दलले अहिले दुई पार्टी सिस्टमको अवधारणा ल्याएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस र कम्युनिष्टको विकल्प हामी दुवै पार्टी हाे। जो मुलधारको राजनीतिमा आयौं, सबले बलिदान दियौं, यो संविधानको उपस्थिति छ तर उपलब्धि छैन। यसलाई संस्थागत गर्नुछ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि पनि संघीयतालाई बचाउनको लागि पनि दुवै पार्टीको एकता अनिवार्य छ, आवश्यक छ।’
उनले देशमा वैकल्पिक पार्टी निर्माणका लागि मधेसी पार्टीले मधेसको १० जिल्लामा मात्रै सीमित रहेर नुहने बताउँदै मधेसी पार्टीहरुले आदिवासी जनजाती, खस, आर्य, उत्पीडन विभेदमा परेका समुदायहरुको एउटा वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।