काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको बैठकमा शीर्ष नेतृत्वको चर्को आलोचना भएको छ। गुट सञ्चालन गरेको, जीवनशैली कम्युनिस्ट सिद्धान्तअनुरुप नभएको, सरकार मनमौजी चलेको, जथाभावी बोलेको र भेटघाट पातलिएको विषयमा शीर्ष नेताहरुको आलोचना भएको हो।
कठमाडौंमा तीनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत छलफल गरिरहेका छन्। शुक्रबार १५ वटै समूहले छलफल सकेपनि चारवटाले मात्रै प्रतिवेदन पेश गरेका छन्। चारवटै समूहले विभिन्न विषयमा नेतृत्वको आलोचना गरेको बुझिएको छ।
शुक्रबार समूह २ बाट कमला रोक्का, ६ बाट दिनानाथ शर्मा, ९ बाट भगवती चौधरी र १३ बाट लेखनाथ न्यौपानेले प्रतिवेदन पेश गरेका छन्।
समूह ६ का नेता दिनानाथ शर्माले आफ्नो समूहको प्रतिवेदन पेश गर्ने क्रममा शीर्ष नेतातर्फ औंला तेर्स्याउँदै भने, 'गुटबन्दीको सुरुवात तपाईंले गर्नुभयो। जीवनशैली भद्दा र खर्चिलो तपाईंहरुकै छ। त्यहीबाट कार्यकर्ताले सिके। पानी र बानी माथिबाटै बग्ने हो।’ उनले आफ्नो समूहका केन्द्रीय सदस्यहरुको भनाइलाई उद्धृत गर्दै नेतृत्वको कार्यशैलीको आलोचना गरेका हुन्।
आचार संहिताको उलंघन पनि शीर्ष नेताबाटै भइरहेको आरोप समूह १३ का नेता लेखनाथ न्यौपानेले लगाए। उक्त समूहमा केन्द्रीय सदस्यहरुले राखेका साझा धारणा प्रस्तुत गर्ने क्रममा उनले भने, 'सार्वजनिक रुपमा जथाभावी बोल्ने काम भएको छ। नयाँ विषय आयो भने पार्टीको एउटा धारणा बनाएर अभिव्यक्ति दिनुपर्यो।' उनले नेतृत्वको पारदर्शिताका विषयमा पनि आफ्नो समूहका केन्द्रीय सदस्यले प्रश्न उठाएको बताए।
नेकपाले भन्ने गरेको समाजवादका विषयमा पनि स्पष्ट पार्न माग समेत भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए। समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आएका धारणाबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'के गर्यो भने समाजवाद हुन्छ? शिक्षा र स्वास्थ्यमा समाजवाद कसरी लागू हुन्छ? हामी उत्पादन र सहकार्यजस्ता कुरामा कसरी जोडिने? भनेर केन्द्रीय सदस्यहरुले प्रश्न गर्नुभएको छ।'
तीनवटै तहका सरकार बेलगाम भएको भनेर समेत बैठकमा आलोचना भएको छ। यसका लागि पार्टीले एउटा संयन्त्र बनाउनुपर्ने सुझाव दिइएको रिजाल बताउँछन्। उनले भने, 'पार्टीको सार्वजनिक अनुहार सरकार हो। त्यसैले सरकार र पार्टीबीचको समन्वयका लागि संयन्त्र बनाउने कुरा बैठकमा उठेको छ।'
निर्वाचन प्रणाली महंगो भएको कुरासँगै कम्युनिस्ट पार्टीका नेतामाथि पारदर्शिताको प्रश्न उठेको छ। समूह १३ का नेता लेखनाथ न्यौपानेले पार्टीमा नवधनाढ्य वर्गको उदय हुँदै गएको बताए। नेताहरु आधारभूत वर्गबाट टाढिएको बताउँदै उनले नेकपा नेता र जनप्रतिनिधीको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताए।
कुनैपनि विषयमा नेताहरुले केन्द्रीय सदस्यहरुसँग परामर्श नगरेको गुनासो पनि केही केन्द्रीय सदस्यहरुको छ। ढोकामा ढुक्नेहरुले भेट पाउने अवस्था आएको बताउँदै नेतृत्व सम्पर्कविहीन हुन थालेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन्।
नेतृत्वमा आउने र जाने प्रक्रिया व्यवस्थित नभएको पनि केहीले बताएका छन्। उनीहरुले दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउनेमात्रै होइन, उमेर हदसमेत तोक्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।