धनगढी- कर्णालीमा पानीजहाज सञ्चालनका लागि पहल सुरु गरिएको छ।
सो नदीमा हाल र्याफ्टिङ सञ्चालनमा रहेको छ। कैलालीका केही स्थानीय तहले कर्णालीमा पानीजहाज सञ्चालनको काम अघि बढाएका हुन्।
भारतको करुणाघाटदेखि सेती र कर्णालीको दोभानसम्मको करीब ७० किलोमिटरसम्म पानीजहाज सञ्चालन गर्ने गरी काम अघि बढाइएको जनाइएको छ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको संयोजकत्वमा टीकापुर र लम्की नगरपालिका तथा मोहन्याल र जानकी गाउँपालिकाका प्रमुख/अध्यक्ष‚ सदस्य रहने गरी कर्णालीमा पानीजहाज सञ्चालन समिति समेत गठन गरिएको छ।
पानीजहाज सञ्चालन समितिले कर्णाली नदीको अध्ययन अवलोकनसँगै सप्तकोशी र नारायणी नदीको पनि अध्ययन अवलोकन गरेको जनाएको छ।
जिल्ला समन्वय समिति प्रमुख थापाले भने – हामीले कर्णाली नदीको अध्ययन अवलोकन गरिसकेका छौं। एक हप्ताभित्रै विज्ञसहितको टोलीले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गर्नेछ। उनका अनुसार विज्ञ टोलीको अध्ययन गरेपछि पानीजहाज ल्याएर परीक्षण गरिनेछ।
थापाले सप्तकोशी र नारायणी नदी झैं कर्णालीमा पनि जल यातायातको सम्भावना रहेको बताए। जिल्ला समन्वय समिति प्रमुख थापाका अनुसार सप्तकोशी नदीभन्दा कर्णाली नदीमा ठुलो छहरा नभएकाले कर्णालीमा सहजै जहाज सञ्चालन गर्न सकिनेछ।
उनले विज्ञ टोलीको प्रतिवेदनका आधारमा कर्णाली नदीमा चारवटा पानीजहाज सञ्चालन गरिने बताए। कर्णाली नदीमा ३० जना मान्छे बोक्न सक्ने क्षमताका पानीजहाज चलाउन सकिने बताइएको छ।
जिसस प्रमुख थापाले कर्णाली नदीमा पानीजहाज सञ्चालन भएपछि कैलाली, डोटी, अछाम र सुर्खेतमा आवतजावत तथा सामान ढुवानीमा टेवा पुग्ने बताए।
उनले प्रदेश तथा स्थानीय तहको अनुदान र नीजि क्षेत्रको लगानीमा कर्णाली नदीमा पानीजहाज सञ्चालन गर्ने योजना अघि बढाइएको बताए।
थापाले आगामी वैशाख १ गतेभित्रै कर्णाली नदीमा पानीजहाज चलाउने गरी काम भइरहेको बताए। उनले कर्णाली नदीमा पानीजहाजसंगै र्याफ्टिङलाई पनि अघि बढाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।