काठमाडौं– गायक मिङ्मा लामाले उहिल्यै गाएका थिए, ‘आँसु झार्दिन म, रुन मलाई पुगिसक्यो।’
तर, पछिल्लो समय नेपाली फिल्मका प्रचारात्मक कार्यक्रममा झरिरहेको आँसु देख्दा लाग्छ– नेपाली सिनेमालाई अझै रोएर पुगेको छैन।
हुन त आँसुमाथि प्रश्न गर्न कठिन हुन्छ। तर, यिनै आँसु अचेल कलाकारका आँखाबाट सजिलै बगिरहेको देख्दा लाग्छ, ‘कतै यी पनि अभिनयका क्रममा ग्लिसरिन प्रयोग गरेर झारिने आँसुजस्तै फेक त होइनन्?’
एक महिनाअघि फिल्म ‘छपाक’को ट्रेलर लन्च कार्यक्रममा बलिउड अभिनेत्री दीपिका पादुकोण बोल्दाबोल्दै एक्कासी भक्कानिएकी थिइन्। त्यतिबेला आँखाबाट आँसु नरोकिएपछि स्टेजमा सँगै उभिएकी निर्देशक मेघना गुल्जार र अभिनेता विक्रान्त मेसीले उनलाई सम्हालेका थिए।
दीपिकाको आँसु सर्वत्र खबर बन्यो, हेडलाइनको विषय भयो। तर कसैले दीपिकाको आँसुमाथि प्रश्न गरेन।
‘छपाक’ एसिड आक्रमण परेकी युवतीले गरेको संघर्षको कथा हो। फिल्ममा दीपिकाले ‘एसिड एट्याक सर्भाइभर’को भूमिका निर्वाह गरेकी थिइन्।
ट्रेलर लन्च कार्यक्रममा आफूले निर्वाह गरेको पात्रमाथि एसिड छ्यापिएका दृश्य उनले सहन सकिनन्। त्यसैले रोएकी थिइन्। सहभागीले पनि यसलाई स्वाभाविक रुपमै लिए।
यो फिल्म अहिले रिलिज पनि भइसक्यो। रिलिज हुनुअघि ट्रेलर हेरेर दीपिकामात्रै रोएकी थिइन्, अहिले फिल्म हेरेपछि दर्शक पनि रोएका छन्।
र, बलिउडमा यतिबेला दीपिकाको आँसुुको खबर सेलाइसक्यो तर यहीबेला नेपालमा भने हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’को आँसुको हेडलाइनले ‘पिकअप’ लिइरहेको छ।
युट्युबमा राखिएका ‘धुर्मुसको अंगालोमा सुन्तलीको रुवाबासी, दीपाश्रीले सम्हाल्न सकिनन्’जस्ता हेडलाइनका सामग्रीमा बढिरहेको भ्यूज यसको प्रमाण हो।
र, यो ‘रुवाबासी’ अन्त कतै नभएर बुधबार धुर्मुस–सुन्तलीले नै बनाएको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर लन्च कार्यक्रममा भएको हो।
हुन त आँसुमाथि प्रश्न गर्न कठिन हुन्छ। तर, यिनै आँसु अचेल कलाकारका आँखाबाट सजिलै बगिरहेको देख्दा लाग्छ, ‘कतै यी पनि अभिनयका क्रममा ग्लिसरिन प्रयोग गरेर झारिने आँसुजस्तै फेक त होइनन्?’
स्टेजमा उभिएर फिल्मबारे बोल्ने क्रममा सीतारामले त्यतिबेला दर्शकलाई आग्रह गर्दै भनिरहेका थिए,‘फिल्म हेरिदिनुस्, तपाईंहरूले काटेको टिकट खेर जाँदैन, किनकि फिल्ममा मनोरञ्जन छँदैछ, सँगै देशका लागि सानो सहयोग हुन्छ।’
हाल चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका उनी आफ्नो संघर्ष सुनाउँदै भनिरहेका थिए,‘कयौँ रात सुतिएन होला, कयौँ रात खाएको छैन होला, तर एकदिन हाम्रो अभियान पुरा हुनेछ।’
त्यसपछि ‘मानव हुँ, केही त्रुटी/कमीकमजोरी भए–कृपया माफी दिनुहोस्’मात्रै के भनेका थिए, एक्कासी उनको बोली अड्कियो। आँखा त रसाइहाल्यो।
त्यसपछि त सीतारामको बोली झन् कडा भएर निस्कियो। आफू ६ वर्षदेखि पेसा, घर–परिवार, सानी छोरी सबै कुरा छाडेर बिहान ४ बजेदेखि राति ११ बजेसम्म देशका लागि खटिरहेको भन्दै आफ्नो अघिल्तिर तेर्सिएका क्यामेरामार्फत् सारा दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे।
जब–जब युट्युब, अनलाइन र पत्रपत्रिकाका क्यामेराहरु उनीहरुका अघिल्तिर तेर्सिन्छन्, त्यसपछि कलाकारहरु ‘ग्वाँ ग्वाँ’ रुन थालिहाल्छन्। एक्कासी उनीहरुको भक्कानो फुट्न थालिहाल्छ। आँखाहरु अनायसै रसाइहाल्छन्।
बढ्दैछ रुने ट्रेन्ड
धुर्मुस त उदाहरणमात्रै हुन्, पछिल्लो समय फिल्म प्रमोशनताका कलाकारहरू रुने ट्रेन्ड बढेको छ।
जब–जब युट्युब, अनलाइन र पत्रपत्रिकाका क्यामेराहरु उनीहरुका अघिल्तिर तेर्सिन्छन्, त्यसपछि कलाकारहरु ‘ग्वाँ ग्वाँ’ रुन थालिहाल्छन्। एक्कासी उनीहरुको भक्कानो फुट्न थालिहाल्छ। आँखाहरु अनायसै रसाइहाल्छन्।
‘नेपाली फिल्ममा आँसु बिक्छ भन्ने मनोविज्ञान वर्षौदेखि हावी छ,’ फिल्म निर्देशक मनोज पण्डित भन्छन्, ‘एउटा समय पर्दाभित्र कलाकार रुवाइयो अनि फिल्म चलाइयो। केही वर्षयता पर्दामा हाँसो बिक्न थाल्यो। त्यही पनि आँसुको मनोविज्ञान हटेन। त्यसैले पर्दाबाहिर रोएर भए पनि आँसु बेच्न खोजिँदैछ।’
यस्तो किन भइरहेको छ? उनको प्रष्ट विश्लेषण छ– ‘मिडियाको हेडलाइन बन्न।’
‘ट्रेलर लन्च भयो भन्ने खबर त एकदमै सामान्य हुन्छ, त्यसैले ट्रेलर लन्च कार्यक्रमलाई विशेष बनाउन उनीहरू आफैं रोइरहेका छन्, भावविह्वल भइरहेका छन्,’ निर्देशक पण्डित भन्छन्, ‘जोसँग कन्टेन्ट कमजोर हुन्छ, ऊ आँशुको भर पर्ने हो। अनि त्यही आँसु बगाएर दर्शकलाई फिल्म हेर्न बिलौना गर्छन्। म त स्पष्ट छु, हामी स्टोरी बेच्न सकिरहेका छैनौँ, त्यसैले आँसु बेचिरहेका छौँ।’
नेता रोइदिँदा...
फिल्मकर्मीमा आँसुले फिल्म चलाउन सहयोग गर्छ भन्ने विश्वास बढेकोचाहिँ, फिल्म ‘राहदानी’ रिलिजपछि देखिन्छ। पत्रकार डब्बु क्षेत्रीले निर्देशन गरेको यो फिल्म ०७२ साल चैतमा रिलिज भएको थियो।
विदेश जाने युवाको कथा बोकेको यो फिल्मको प्रिमियरमा आएका तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेललाई पत्रकारले सोधेका थिए, ‘फिल्म कस्तो लाग्यो मन्त्रीज्यू?’
जवाफ दिने क्रममा उनको गलामात्रै अवरुद्ध भएको थिएन, भक्कानो छोडेर रोएका पनि थिए। उनको आँसु मिडियाका लागि गज्जब हेडलाइन भयो। रातारात उनी रोएको भिडियो सामाजिक संजालमा भाइरल भयो।
त्यसपछि त फिल्मको नाम थाहा नभएकाहरु पनि हलमा ‘मन्त्रीज्यू रोएको फिल्मको टिकट दिनुस् न’भन्दै पुग्न थाले। मन्त्रीको आँसुले फिल्म निर्माण पक्षलाई ठूलो फाइदा पुर्यायो।
त्यसपछि फिल्मकर्मीलाई लाग्यो– फिल्म चलाउन त रुनु पो पर्ने रहेछ। त्यसपछि बढ्न थाल्यो– फिल्म प्रमोसन कार्यक्रममा रुने ट्रेन्ड।
केही उदाहरण
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आमा’का लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो पुरै कपाल खौरिइन्। र, अहिले यही विषय मिडियाको ‘कन्टेन्ट’ भइरहेको छ। सुरक्षा जहाँ पुग्छिन्, यो विषय उठिहाल्छ।
एक महिनाअघि फिल्मको ट्रेलर रिलिज हुँदा यही कपाल खौरिएको क्षण सम्झिएर भक्कानिइन्। बोल्दाबोल्दै एक्कासी गला अवरुद्ध भयो। आँखाबाट आँसु झर्यो। र, त्यतिबेला उनको त्यही ‘आँसु’ मिडियाको ‘मसला’ पनि भयो।
आफ्नो फिल्मको प्रमोसनताका क्यामेरा अघिल्तिर रुने कलाकारको सूची लामो छ। दीपाश्री निरौला, स्वेता खड्का, प्रियंका कार्की, सन्ध्या केसी, आँचल शर्मा, पूर्णिमा लामादेखि कविता गुरुङसम्मको नाम यसमा अट्छ।
‘अरु पेसा र क्षेत्रमा काम गर्नेभन्दा कलाकारितामा लाग्नेहरु स्वभावैले ज्यादा भावुक हुन्छन्,’ चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा भन्छन्, ‘तर, आफ्नो कामको मुल्यांकन नहुँदै प्रमोसनताका पत्रकारका अगाडि मन थाम्न नसक्नु र भावुक हुँदाचाहिँ कामकोे बलमा भन्दा पनि दर्शकलाई इमोसनल्ली आकर्षण गर्न खोजेजस्तो देखिन्छ। नेपाली फिल्म निर्माणका क्रममा करोडौं डुबाउने यहाँ थुप्रै निर्माता छन्, तिनीहरु भित्रभित्रै धेरै रोए होलान् तर, पत्रकारका अगाडि दुःख व्यक्त गर्दै रोएको या भावुक भएको मैले कहिल्यै देखिनँ।’
पछिल्लो समय कलाकारले क्यामेराअघि आँसु झार्ने प्रवृत्ति स्वाभाविक नदेखिएको टिप्पणी गर्दै उनले भने, ‘चलचित्र चल्नु/नचल्नु त्यो फिल्मभित्र रहेको कन्टेन्ट र दर्शकले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरामा निर्भर हुन्छ। यहाँ कमजोर फिल्म जति रोए पनि चल्दैन, राम्रो फिल्म बनाउनेले कहिल्यै रुनु पनि पर्दैन।’
फिल्म ‘पण्डित बाजेको लौरी’ प्रिमियरताका सहभागी कलाकारहरुले अभिनेत्री सन्ध्या केसीको खुब तारिफ गरे। त्यो पनि क्यामेराकै अघि।
त्यसपछि थप के चाहियो र उनलाई! एकछिन अघिसम्म हाँसिरहेकी थिइन्, एक्कासी रोइदिइन्। र, त्यही रोदन युट्युबको हेडलाइन पनि भयो। अनि, फिल्मका लागिचाहिँ गतिलो ‘पब्लिसिटी मसला’। तै पनि हलमा पुगेपछि फिल्म चलिदिएन, फ्लप भयो।
फिल्म ‘कोहिनुर’को रिलिजताका यो फिल्मको ओपनिङ बिजनेस निकै कमजोर थियो। तर, जब भारतमा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर फैलियो, त्यसपछि हलमा दर्शकको ओइरो लाग्यो।
त्यसको केही वर्षपछि उनकी श्रीमती अभिनेत्री स्वेता खड्काले नयाँ फिल्म बनाइन्, ‘कान्छी’। फिल्मले ‘कोहिनुर’झै व्यापार गरोस् भन्ने चाहना थियो सायद, खुब खटिन् फिल्मको प्रचारमा। प्रचारताका उनका आँसु खुब चुहिए।
‘कान्छी’को ट्रेलर रिलिजताका उनलाई एक पत्रकारले जब ‘श्रीकृष्णलाई किन नसम्झिएको’ भनेर प्रश्न गरे, त्यतिबेला त उनी निकै रोएकी थिइन्। र, छचल्किएका उनका आँसु धेरै च्यानलका हेडलाइन बनेका थिए।
‘हिरोज्’ फिल्मको रिलिजका बेला फिल्मकी निर्मात्रीसमेत रहेकी अभिनेत्री पूर्णिमा लामा त ‘आफूलाई कसैले सहयोग नगरेको, सबै काम आफू एक्लैले गर्नुपरेको’ भन्दै प्रेसमिटमै ‘ग्वाँ ग्वाँ’ रोएकी थिइन्। अनि, दुवै हातले आँसु पुछ्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरेकी थिइन्।
तैपनि आँशुमिश्रित आग्रह दर्शकले सुनिदिएनन्, फिल्म फ्लपै भयो। र, अन्ततः पूर्णिमाको आँसु पनि खेरै गयो।
फिल्म प्रचारका बेला बग्ने यो आँसु यदि फिल्म निर्माणका क्रममा बगेको भए, स्क्रिप्ट लेखनका बेला बगेको भए, वर्कशपका बेला बगेको भए सायद नतिजाको दृश्य आज फरक हुन्थ्यो कि! बहस किन नगर्ने?
अभिनेत्री आँचल शर्मा पनि बेलाबेला क्यामेराअघि रोइरहन्छिन्। फिल्म ‘शत्रु गते’ रिलिजका बेला हो। धेरै ट्रेलर रिलिज कार्यक्रममा रुन्थे, उनी हल भिजिटका बेला रोइन्। त्यो पनि दर्शकको उल्लेख्य संख्याले फुरुंग भएर।
फिल्म युनिट आफैले निम्ता गरेको मिडियाका क्यामेरासामु आँचल रोएपछि त्यो मिडियाको हेडलाइन नबन्ने कुरै थिएन, त्यसैले बनिहाल्यो।
‘छक्कापन्जा–२’ रिलिजताका अभिनेत्री दीपाश्री निरौला यसैगरी रोएकी थिइन्। ‘बोबी’ फिल्म प्रचारका बेला नवअभिनेत्री कविता गुरुङको आँसुले पनि खुब चर्चा बटुलेको थियो।
कलाकारले फिल्म रिलिजताका आँसु बगाएका उदाहरण यहाँ धेरै छन् तर एकाधबाहेक अधिकांश फिल्मको व्यापार नतिजा निराशाजनक नै छ।
फिल्म प्रचारका बेला बग्ने यो आँसु यदि फिल्म निर्माणका क्रममा बगेको भए, स्क्रिप्ट लेखनका बेला बगेको भए, वर्कशपका बेला बगेको भए सायद नतिजाको दृश्य आज फरक हुन्थ्यो कि! बहस किन नगर्ने?
टिप्पणी
स्टोरी बेच्न सकिरहेका छैनाैं, त्यसैले आँसु बेचिरहेका छौँ : मनोज पण्डित,फिल्म निर्देशक
हामीकहाँ कलाकार रुँदा त्यसले दर्शकमा भावनात्मक असर पर्छ र त्यसपछि दर्शकमा फिल्म हेर्ने उत्प्रेरणा जाग्छ भन्ने अवधारणाको विकास भइरहेको छ। यहाँ जो रोइरहेका छन्, ती अधिकांशका सिनेमा हेर्दा संवेदनशील र कलात्मक छैनन्। त्यसैले उनीहरु आँसुको सहारा लिइरहेका छन्।
आँसुले दयाको भाव जगाउँछ। ‘म कमजोर छु, मप्रति दया गर्दे’ भन्ने मनोविज्ञान बोक्छ। मान्छे दुइ कारणले रुन्छ। एउटा भावना व्यक्त गरेर रुन्छ भने अर्को आफूलाई अर्कोले स्वीकार गरिदिओस् भन्ने चाहनाले।
नेपाली फिल्मकर्मी पनि आफूजस्तो छु, त्यसलाई नै अरुले स्वीकार गरिदिउन् भन्ने चाहन्छन्। तर, नेपाली दर्शकले उनीहरुलाई किन जस्तो अवस्थामा पनि रोएकै भरमा स्वीकार गर्नुपर्ने? प्रश्न आवश्यक छ।
खासमा जोसँग कन्टेन्ट कमजोर छ, उनीहरु दर्शकमाझ आँसु बगाएर फिल्म हेरिदिन आग्रह गरिरहेका छन्। हो, हामी स्टोरी बेच्न सकिरहेका छैनौँ, त्यसैले आँसु बेचिरहेका छौँ।’
तर, यो आँसु बेच्ने मनोविज्ञानले नेपाली सिनेमालाई झन्–झन् कमजोर बनाइरहेको छ। यहाँ दर्शकसँग भावनाका कुरा गरेर, वेदना पोखेर फिल्म हेर्ने माहोल सिर्जना गर्न खोजिदैछ।
तर, रोएर, गिड्गिडाएर सिनेमा चल्ने होइन। मैले घर बेचेर सिनेमा बनाएको, त्यसैले हेर्दिनुस्, हेर्दिनुभएन भने त म आत्महत्या गर्ने अवस्थामा पुग्छुजस्ता कुरा गरेर पनि सिनेमा चल्दैन।
हिजो आँसु बिक्थ्यो, त्यसैले फिल्मकर्मीहरु पर्दाभित्रबाटै आँसु बेच्थे। अहिले हाँसो बढी बिक्न थाल्यो, तर अचम्म हसाउनेहरु पनि पर्दाबाहिर आँसु चुहाइरहेका छन्।
हामी यहाँ कन्टेन्टलाई प्रचारप्रसार गरिरहेका छैनौँ, त्यसैले अरु कुराको सहायता लिइरहेका छौँ। र, त्यसमध्ये एउटा बलियो साधन आँसु हो।
खासमा उनीहरु यस्तो किन गरिरहेका छन् भने नेपाली दर्शकको ठूलो जमात त्यही रुचाइरहेको छ। अर्थात्, आँसुमिश्रित कन्टेन्ट र ट्वाक्कटुक्क रोमान्स। पछिल्लो समय देखिने युट्युबमा बढी भ्यूज भएका कन्टेन्टले यहीँ देखाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।