नुवाकोट– विदुर नगरपालिकाका सबै वडासदस्यले आफूहरुलाई भत्ता उपलब्ध गराउनुपर्ने भन्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।
वडा सदस्यहरुले नगर कार्यपालिकाको दोस्रो नगर सम्मेलनमा इन्धन, बाटो र खाजा खर्चबापत भत्ता उपलब्ध गराइदिन मुख्यमन्त्री पौडेललाई नगरपालिकाका मेयर सञ्जु पण्डितमार्फत ज्ञापनपत्र पेश गरेका हुन्।
वडाका काम प्रभावकारी ढंगले गर्न विभिन्न गाउँ जानुपर्ने, विकास निर्माण अवलोकन गर्नुपर्ने, दैनिक कार्य सञ्चालन गर्नुपर्ने र नगरसभामा सहभागी हुनुपर्ने भएकाले खर्च धान्न नसकिएको वडा सदस्यहरुको गुनासो छ।
वडा नम्बर ४ का वडासदस्य बसन्त रिजालले प्रदेश ४ को सरकारले प्रत्येक वडाका सदस्यलाई मासिक भत्ता दिने व्यवस्था गरिसकेको हुनाले नुवाकोटमा पनि त्यस्तो निर्णय गराउन आफूहरुले दबाब दिएको बताए। नगर सम्मेलनमा नगरभित्रका वडासदस्यले कामकाजमा हिँड्दा वडाले भत्ता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।