काठमाडौं- आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपरेको जनाउँदै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले आमरण अनशन तोडेका छन्।
पाँच दिनदेखि केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसिरहेका त्रिपाठीले शुक्रबार अनशन तोडेका हुन्। संघको विधान कार्यान्वयनको माग गर्दै अनशनमा बसेका त्रिपाठीको पक्षमा केही नेताहरु देखिएका थिए। माउ पार्टी नेपाली कांग्रेस भने आमरण अनशनप्रति गम्भीर देखिएको थिएन।
आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने भएकाले अनशन स्थगित गरिएको त्रिपाठीले नेपाललाइभसँग बताए। विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ भन्ने अडान कायम रहेको उल्लेख गर्दै उनले भने, ‘विधि–विधान कार्यान्वयन गराउन संघर्ष जारी रहने छ। मुद्धा छोडेको नभइ आन्दोलनको रुप परिवर्तन गरिएको हो।’ आमरण अनशनका क्रममा देशभरबाट नेविसंघ र कांग्रेस शुभचिन्तकहरुले सद्भाव देखाएको अनशनस्थलमा खटिएका विद्यार्थी नेता मनिष सिम्खडाले बताए।
३२ वर्षे उमेर हद कायम गरि तदर्थ समिति बनाउनु पर्ने उनको मागलाई पार्टी नेतृत्वले सुन्ने चेष्टा गरेन। पार्टी सभापति शेरबहादुर देउवाले उनको मागविपरीत तदर्थ समिति बिहीबार गठन गरेका थिए।
संस्थापनइतरका नेताहरुले ३२ वर्षमुनिबाट तदर्थ समिति हुनुपर्ने पूर्व अडान फेरेका थिए। संस्थापनइतर तदर्थ समिति भागबण्डामा सहमत भएपछि सभापति देउवालाई तदर्थ समिति बनाउने बाटो खुलेको थियो।
महामन्त्री डा शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले तदर्थ समिति ३२ वर्ष मुनिबाट हुनुपर्ने विचार राख्दै आएका थिए।तर, गत शुक्रबार सभापति देउवा निवासमा भएको बैठकमा संस्थापनइतरका नेताहरु आफ्नो विचारबाट पछि हटेका थिए।
विधानको पक्षमा भएको आमरण अनशनलाई नेताहरु अर्जुननरसिंह केसी र डा शेखर कोइरालाले समर्थन जनाएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।