काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटि बैठकमा समूहगत छलफलका क्रममा अधिकांश केन्द्रीय सदस्यहरुले अमेरिकी सहयोग परियोजना एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने धारणा राखेका छन्।
सरकार, अध्यक्षद्वयका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन तथा विधानबारे नबोले पनि अधिकांशले एमसिसीबारे बहस गरेका थिए। केही केन्द्रीय सदस्यले एमसिसीका पक्षमा बोले पनि अधिकांशले विपक्षमा धारणा राखेको सहभागीले जनाएका छन्।
प्रधानमन्त्रीले एमसिसीका बारेमा बोल्दा कतिपय कुरा स्पष्ट नभएको, सम्झौतामा भएका र बाहिर आएका कुरा राष्ट्रहितमा नदेखिएको र कार्यकर्ता पंक्तिमा गलत हो भन्ने परेकाले यसमा स्पष्ट नभइ एमसिसी पास गर्न नहुने उनीहरुको धारणा थियो।
‘कार्यकर्ता पंक्तिमै एमसिसी गलत हो भन्ने परेको छ, उनीहको यो बुझाइलाई नसच्याइकन पास गर्नुहुन्न, त्यसले जनमानसमा गलत सन्देश जान्छ,’ केन्द्रीय सदस्य राजेन्द राइले भने।
केन्द्रीय सदस्यहरुले एमसिसीका बारेमा अध्ययन गर्न, त्यसमा के–के कुरा राष्ट्रहितमा छ, के–के सच्याउनुपर्छजस्ता विषयमा अध्ययन गर्न विज्ञ टोली गठन गर्न पनि सुझाव दिएका छन्।
समूहगत छलफलका क्रममा अधिकांश समूहमा केही सदस्य एमसिसीको पक्षमा देखिए पनि अधिकांश विपक्षमा देखिएका छन्। त्यसमध्ये समूह ४ का भने सबै सदस्य एमसिसी पास गर्न नहुने पक्षमा देखिए। जगन्नाथ खतिवडाको नेतृत्व रहेको उक्त समूहमा देव गुरुङ लगायत छन्।
केन्द्रीय सदस्य झपट रावलले समूह नेतृत्वले एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने निष्कर्ष पठाएको बताए।
केन्द्रीय कमिटि बैठकबाट एमसिसी पारितको विषय अनुमोदन नभएपछि अब यो विषय स्थायी समिति या सचिवालयतिरै जाने देखिएको छ। केन्द्रीय कमिटि बैठकमा सदस्यहरुले एमसिसी पहिले पार्टी हुँदै संसदमा जानुपर्नेमा संसद हुँदै पार्टीमा आउनु उल्टो भएको टिप्पणी गरेका थिए।
जारी नेकपा केन्द्रीय कमिटि बैठकमा शुक्रबार केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।