धनगढी- सुदूरपश्चिम प्रदेश सभाको शुक्रबारको बैठक स्थगित गरिएको छ।
शुक्रबार बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह उपस्थित हुन नसक्ने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए।
शुक्रबार ‘सुदूरपश्चिम प्रदेशमा रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची रहेको थियो। ‘उक्त विधेयकलाई माननीय आन्तरिक मामिला तथा कानुनमन्त्रीज्यूले विधायन तथा प्रदेश मामिला समितिमा पठाउने कार्यसूची रहेको थियो‚’ धामीले भने, ‘उहाँ नभएपछि बैठक स्थगित गरिएको हो।’
उक्त विधेयकमा प्रमुख प्रतिपक्षी दलले पनि संशोधन प्रस्ताव दर्ता गराएको छ। महत्त्वपूर्ण विषयमा छलफल चलिरहेका बेला मन्त्री नहुनु उपयुक्त नरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए।
‘यस्तो महत्त्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठिक होइन‚’ उनले भने, ‘सरकारले सदनलाई महत्त्व दिइरहेको छैन।’
मन्त्री शाह नेकपाको केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौं रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
यस अघि पनि ‘रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री शाह नहुँदा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले दिएका थिए।
कानुनमन्त्रीमात्रै होइन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि उपस्थित नहुँदा बुधबारको प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्योग पर्यटन वन तथा वातावरणका दुईवटा विधेयकहरू प्रदेश सभामा टेबल गरेका थिए।
वनमन्त्री भट्ट नहुँदा ‘निजी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ सामाजिक विकास मन्त्री सुवेदीले टेबल गरेका हुन्।
मन्त्री सुवेदीले विधेयकमात्रै टेबल गरेनन्, विधेयकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। सम्बन्धित मन्त्री नहुँदा अन्य मन्त्रीले जवाफ दिनु उपयुक्त नरहेको प्रतिपक्षी दलको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।