काठमाडौँ– निजामती सेवामा मूख्य सचिवपछि सबैभन्दा आकर्षक मानिने गृहसचिव पद अर्को सातादेखि खाली हुँदैछ। अनिवार्य अवकाशको मिति आएपछि गृहसचिव प्रेमकुमार राईले पदबाट राजीनामा दिइसकेका छन्। रिक्त हुने उक्त पदका लागि अरु सचिवहरुको दौडधुप सुरु भएको छ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गहृमन्त्री रामबहादुर थापा ‘बादल’का प्रिय प्रशासक मानिएका राईले दिएको राजीनामा १३ माघको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ। उनले २० माघदेखि लागू हुनेगरी मूख्यसचिव लोकदर्शन रेग्मीका हातमा राजीनामा थमाएका थिए।
‘सचिव राईले दिएको राजीनामा स्वीकृत पनि भइसकेको छ’, गृह मन्त्रालयको उच्च स्रोतले नेपाल लाइभसँग भन्यो, ‘अब उहाँको स्थानमा को आउने भन्नेमा स्वभाविक खालको प्रतिस्पर्धा देखिएको छ।’
‘केही सचिवहरुले गृह मन्त्रालयको जिम्मेवारीका लागि आफू तयार भएको भन्दै शक्तिकेन्द्र धाइरहेका छन् तर प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म कसैलाई वचन दिएको थाहा छैन’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल पनि छिट्टै होला। तर दुबैलाई चित्तबुझ्ने हिसाबले निर्णय हुन्छ।’
उता, प्रशासनिक वृत्तमा भने सचिवहरु केदारबहादुर अधिकारी, महेश्वर न्यौपाने र यादव कोइरालाले गृहसचिवमा सरुवा हुन चहलपहल गरिरहेको ‘गसिप’ सुन्न पाइन्छ। ‘उहाँहरुको नाम चर्चामा छ तर यसमा यही व्यक्ति छनोट हुन्छन् भन्न सकिन्न। राजनीतिक तालमेल र विश्वासको कुरा महत्वपूर्ण हुन्छ’, एक जना पाका सचिवले भने, ‘जसले बालुवाटार र गृहमन्त्री रिझाउन सक्यो उही पुग्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।