भैरहवा- नेपाल–भारत सीमानाका बेलहियामा हेल्थ डेस्क स्थापना गरिएको छ। चीनबाट प्रकोपको रुपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिम बढ्ने देखिएपछि सीमानाका बेलहियामा सर्तकता अपनाउँदै हेल्थ डेस्क स्थापना गरिएको हो।
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा कोरोनाबारे चेकजाँच तथा यसको सचेतनाको लागि हेल्थ डेस्क स्थापना गरिएको हो। बेलहिया-सुनौली नाका भएर दैनिक सयौंको संख्यामा पर्यटक नेपाल भित्रिने गर्दछन्। त्यसमा चीनबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य छ।
चीनमा कोरोना भाइरस प्रकोपको रुपमा फैलिएपछि भारतले आफ्नो देश हुँदै आउने पर्यटकहरुलाई लक्षित गरी यसअघि नै हेल्थ डेस्क स्थापना गरेको थियो। भारतमा गत मंगलबारदेखि नै हेल्थ डेस्क राखी सेवा प्रदान गर्दै आए पनि नेपालले भने बिहीबार मात्रै डेक्स खडा गरेको हो।
अध्यागमन कार्यालय बेलहिया नजिकै राखिएको हेल्थ डेस्कमा सबैभन्दा पहिला भिसाको लागि आउने विदेशी पर्यटकहरुलाई परामर्शको लागि क्याम्पमा पठाउने गरिएको छ। क्याम्पमा रहेका स्वास्थ्यकर्मीहरुको परामर्शपछि शंकास्पद पर्यटकलाई नजिकैको अस्पतालमा थप चेकजाँचको लागि पठाउने व्यवस्था गरिएको छ।
अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरिराज खनालका अनुसार अध्यागमन कार्यालयमा विभिन्न देशबाट आउने पर्यटक र टुरिस्ट गाइडहरुलाई भिसा दिनु अगावै हेल्थ क्याम्पमा परामर्शको लागि पठाउने गरिएकाे छ।
यसरी परामर्शका लागि आएका पर्यटकहरुमध्ये शंकास्पद र समस्या भएको व्यक्तिको पहिचान गरी भैरहवाको भीम अस्पताल तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाउने व्यवस्था भएको त्यहाँ कार्यरत अनमी गंगा कँडेलले जानकारी दिइन्।
बेलहिया हुँदै नेपाल आएका पर्यटकमा अहिलेसम्म कुनै समस्या नदेखिएको बताइएको छ। भारतमा पहिलो दिन ११ दोस्रो दिन ६७ र तेस्रो दिन २० जना बिरामीलाई परामर्श दिइएको थियो। नेपालमा जस्तै भारतमा पनि अध्यागमन कार्यालयमार्फत आउने पर्यटकलाई परामर्श गरी शंकास्पदलाई सरकारी अस्पतालमा पठाउने व्यवस्था गरिएको डा सेफाली गुप्ताको भनाइ छ।
हेल्थ क्याम्प बिहान ७ बजेदेखि साँझको ८ बजेसम्म सञ्चालन हुँदैछ। सार्क मुलुक लगायत अन्य राष्ट्रबाट पनि यही नाका हुँदै पर्यटकहरु भित्रिने गरेका छन्। भैरहवामा स्थापना भएको हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय, स्वाथ्य कार्यालय, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, सुरक्षा निकायहरुको समन्वयात्मक भूमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।