धनगढी- शुक्रवार बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाकाे बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह उपस्थित हुन नसक्ने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए। ‘सुदूरपश्चिम प्रदेशमा रेडियो एफएम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’लाई विषयग समितिमा लैजाने कार्यसूची रहेको थियो। ‘उक्त विधेयकलाई माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री ज्यूले विधायन तथा प्रदेश मामिला समितिमा पठाउने कार्यसूची रहेको थियो’ धामीले भने, ‘उहाँ नभएपछि बैठक स्थगित गरिएको थियो ।’
उक्त विधेयमा प्रमुख प्रतिपक्षी दलले पनि संशाेधन प्रस्ताव दर्ता गराएको छ। महत्त्वपूर्ण विषयमा छलफल चलिरहेका बेला मन्त्री नहुनु उपयुक्त नरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। ‘यस्तो महत्त्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठीक होइन,’ उनले भने, ‘सरकारले सदनलाई महत्त्व दिइरहेको छैन।’
मन्त्री शाह नेकपाको केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौँ रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि पनि ‘रेडियो एफएम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री शाह नहुँदा भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले दिएका थिए। कानुनमन्त्री मात्रै होइन उद्योग पर्यटन वन तथा वातावरण न्त्री पनि उपस्थित नहुँदा बुधवारको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदीले उद्योग पर्यटन वन तथा वातावरणका दुईवटा विधेयकहरू प्रदेश सभामा टेबल गरेका थिए।
वनमन्त्री भट्ट नहुँदा ‘निजी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ सामाजिक विकासमन्त्री सुवेदीले टेबल गरेका हुन्।
मन्त्री सुवेदीले विधेयक मात्रै टेबल गरेनन्, विधेयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएका थिए। सम्बन्धित मन्त्री नहुँदा अन्य मन्त्रीले जवाफ दिनु उपयुक्त नरहेको प्रतिपक्षी दलको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।