काठमाडाैं- प्रहरी नायव उपरीक्षक (डिएसपी) अरुणकुमार शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको छ।
प्रहरी निरीक्षक पदमा भर्ना हुँदा शाहले भारतको गमध विश्वविद्यालय, बोधगयास्थित बिडी इभिनिङ कलेज पटना–१ बाट बिए पास भएको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए।
उक्त प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको थियो। अख्तियारको अनुसन्धानबाट उक्त प्रमाणपत्र नक्कली भएको पाइएपछि विशेष अदालतमा बिहीबार मुद्दा दायर भएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सेवामा प्रवेश गरेका शाह अहिले बढुवा भएर डिएसपी भइसकेका छन्। विशेष अदालतले उनीविरुद्धको आरोप पुष्टि गर्दै दोषी ठहर गरेमा अहिलेसम्म पाएको तलवभत्ता समेत फिर्ता गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।