काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘सहिदका सपना साकार पार्ने’ तर्फ सरकार उदासीन रहेको आरोप लगाएका छन्।
देश र जनताको निमित्त सहादत प्राप्त गरेका वीर सहिदहरुको सम्मान र परिवारको संरक्षणमा राज्यपक्षले यथोचित ध्यान नदिएकोप्रति आपत्ति प्रकट गर्दै अध्यक्ष थापाले परिवारजन गुमाउनुको पिडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै सहिदका परिवारजनप्रति सहानुभुति तथा समवेदना प्रकट गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सहिदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गरे। जनताले अब पार्टीको रैती होइन, स्वाभिमानी राष्ट्रवादी नेपाली भएर सोच्दै आफ्नो विवेकको प्रयोग गर्ने अवस्था निर्माण भएमा मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनले स्पष्ट पारे।
जनताले पार्टीको रैतीको भूमिकामात्र निर्वाह गरेका कारण हत्यारा, बलत्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने उनको धारणा थियो।
द्वन्द्वकालका जनधनको क्षतिको यथार्थ बुझ्न गठित सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पिडितले न्याय पाउनेमा शंका व्यक्त गरे।
कार्यक्रममा राप्रपाका महामन्त्री भाष्कर भद्राले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध भई कार्य गर्दागर्दै सहादत प्रप्त गर्ने राप्रपा समर्थित करिब १ सय जना सहिदहरुको नामावली प्रस्तुत गरेका थिए।
सो कार्यक्रममा पार्टी अध्यक्ष थापाले द्वन्द्वकालमा पार्टीको विभिन्न ओहदामा रहेर देश र जनताको काम गर्दागर्दै सहादात प्राप्त गरेका सहिदका परिवारलाई खादा लगाएर सम्मान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।