काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल जारी छ।
छलफलमा सहजताका लागि बुधबार नै १५ वटा समूह गठन गरिएको थियो। समूहमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल चलिरहेको छ। त्यसका अतिरिक्त विभिन्न समसामयिक विषयमा पनि सदस्यहरुले धारणा राखेका छन्।
समूह नम्बर १३ मा एमसिसीबारे बहस भएको छ। कतिपयले यसलाई तत्काल संसदबाट पारित गर्दै अघि बढाउनुपर्ने माग गरेका छन्। 'पारित नै गर्नुहुन्न भन्ने धारणा उठेन तर अल्पमत र बहुमतबाट पनि अघि बढ्नु हुन्न भन्ने कुरा उठ्यो,’ एक सदस्यले भने।
कतिपय सदस्यले भने यसबारेमा अध्ययन गर्न पार्टीले टोली गठन गर्न माग गरेका छन्। टोली गठनको माग गर्ने सदस्यले पार्टीले यसबारेमा अध्ययन गर्दै सबै सदस्यलाई 'कन्भिन्स' गरेर अघि बढ्दा पार्टी र देशलाई हित हुने बताएका हुन्।
'राज्य राज्यबीचको सम्झौता हो। यसमा धेरै वटा सरकारहरु संलग्न हुँदै आएका छन्। नेपालजस्तो मुलुकलाई ठ्याक्कै हात झिक्न पनि कठिन छ। बरु त्यसमा रहेका केही अस्पष्टतालाई सम्बन्धित मुलुकसँग छलफल गरेर हटाउनुपर्छ। तर त्यसबाट फाइदा लिन चुक्नुहुँदैन', बैठकमा विष्णु रिजालले भनेका थिए।
त्यस्तै, समूह नम्बर २ मा निर्वाचन प्रणाली महंगो भएकोमा चिन्ता व्यक्त गरिएको छ। यसबारे कुरा उठाउने सदस्यहरुले यस्तै अवस्था रहे पार्टी ठेकेदारको हातमा जाने बताएका छन्।
त्यस्तै केही सदस्यहरुले एमसिसीको विषयमा अझै स्पष्ट नभएको बताएका छन्। उनीहरुले यस विषयलाई स्पष्ट पारिनुपर्ने बताए।
कतिपय सदस्यहरुले सरकारले काम गर्न नसकेकोमा आलोचना पनि गरेका छन्। हिजो प्रधानमन्त्रीले सरकारले प्रशस्तै काम गरेको बताए पनि त्यसको अनुभूति जनताले गर्न नपाएको उनीहरुको टिप्पणी थियो।
समूहमा उठेको छलफलको विषयलाई समेटेर तयार पारिएको प्रतिवेदन शुक्रबारको पूर्ण बैठकमा समूह नेताले प्रस्तुत गर्नेछन्।
समूह २ की टोली नेता कमला रोक्का रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।