भैरहवा– रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
बोराको थुप्रोले किच्दा भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षका छोरा सुल्तान रजा र २ वर्षकी छोरी सहिना खातुनको मृत्यु भएको हो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरूलाई बिहान मृत फेला पारिएको थियो।

घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ राखिएको थियो। बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ।
रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले १५÷२० वर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री गर्दै आएका थिए। उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।