काठमाडौं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटिको बैठकमा राखिएको ब्यानरमा मनमोहन अधिकारीको तस्वीर नराखेकोमा चासो व्यक्त गरेका छन्।
बुधबार सुरु भएको नेकपाको केन्द्रीय कमिटिको बैठकमा राखिएको ब्यानरमा लेनिन‚ स्टालिनको तस्वीर हटाए पनि तत्कालीन एमाले नेता एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्रीको तस्वीर समावेश नगरिएको प्रति ट्विट गर्दै चासो व्यक्त गरेका हुन्।
इतिहासको सम्मान केवल पार्टिगत मामिला नभएको बताउँदै उनले पुष्पलाल र मदन भण्डारीको बीचमा अधिकारीको तस्वीर राखिएको भए उपयुक्त हुने धारणा समेत व्यक्त गरे।
उनको ट्विटमा भनिएको छ‚ ‘स्मृतिमा मनमोहन अधिकारी‚ प्रथम कम्युनिस्ट प्रधानमन्त्री, एक शालीन राजनितिज्ञ! नेकपाको ब्यानरबाट लेनिन, स्टालिनको तस्वीर हटाइनु सकारात्मक तर मनमोहनको तस्वीर नहटाइनु पर्थ्योl पुष्पलाल र मदन भण्डारीको बीचमा जो तर्कपूर्ण देखिन्थ्योl इतिहासको सम्मान केवल पार्टिगत मामिला होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।