काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कांग्रेसको चरित्रमाथि भण्डाफोर गर्नुपर्ने जनाएको छ।
बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा कांग्रेसको चरित्रको भण्डाफोर गर्नुपर्ने उल्लेख छ।
क्षेत्रीय र साना दलप्रति नरम नेकपाको राजनीति प्रतिवेदनमा कांग्रेस पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल भएको आरोप लगाइएको छ।
कांग्रेसको प्रवृत्ति ढुलमुले, सम्झौता परस्त र दलाल प्रकृतिको भएको नेकपाको निष्कर्ष छ। कांग्रेसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्नै नसक्ने नेकपाले ठोकुवा गरेको छ।
तथापि, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन आवश्यकताअनुसार सहकार्य गर्नुपर्ने नेकपाको बुझाइ छ।
साना र क्षेत्रीय दलसँग नेकपाले एकताको नीति समेत लिएको छ। राजनीतिक प्रतिवेदनमा ती दलप्रतिको दृष्टिकोणमा लेखिएको छ,‘क्षेत्रीय र साना दललाई आलोचना,सहकार्य र एकताको नीतिअनुसार रुपान्तरण कार्यमा सहभागी गराउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।