काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्स कम्पनीसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको मितेरी साइनोजस्तो गरी व्याख्या हुने गरेको टिप्पणी गरेका छन्।
‘यती होल्डिङ्ससँग हाम्रो एकदम घनिष्ट साइनो हो कि, मितेरी साइनो जस्तो गरेर व्याख्या गरेका छन्’, नेकपा केन्द्रीय कमिटी बैठकमा बुधबार सरकारले गरेका कामको बचाउ गर्दै अध्यक्ष ओलीले भने, ‘यसअघिका सरकारले पनि लिज सम्झौतामा दिएका थिए।’
उनले तत्कालीन माओवादीसमेत सामेल रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया पुर्याएर नै ताहाचलको जग्गा यतीलाई लिजमा दिएको तर अहिलेको सरकारलाई आलोचना गर्नकै लागि गरिएको टिप्पणी गरे।
‘अहिलेको सरकारलाई आरोपित गरिएको छ। सायद देउवा नेतृत्वको अघिल्लो सरकारले लिजमा दिने नीति बनाएरै दिएको हो,’ उनले भने। उनले तत्कालीन महासचिव मदन भण्डारीले पासाङ ल्हामुलाई पर्वतारोहणमा जानुअघि गरेको बिदाइका फोटो राखेर अहिले यती होल्डिङ्ससँग सरकारलाई जोड्ने गरिएको पनि बताए। ‘जतिबेला यती एयरलाइन्स स्थापना पनि भएको थिएन, अरू थुप्रै कुराहरू उनीहरूको स्थापना नै भएको थिएन, त्यतिबेलाको फोटोलाई लिएर सरकारलाई जोड्ने गरिएको छ,’ उनले भने, ‘सरकारले कुनै गल्ती गरेको छैन। गर्ने पनि छैन।’ हिमाल चढ्न जाने महिलालाई शुभकमना दिएकै भरमा जोड्न नहुने उनको तर्क थियो।
प्रधानमन्त्री ओलीले गोकर्ण फरेष्ट रिसोर्टलाई पनि प्रक्रिया पु¥याएर जग्गा लिजमा दिएको दावी गरे। उनले पाथिभरामा केवलकार बनाउन यतीलाई सित्तैमा जग्गा दिएको समाचारको प्रसंगमा सित्तैमा कसैलाई जग्गा नदिएको दाबी गरे। उक्त जग्गाको सट्टा अन्य स्थानमा वातावरण संरक्षण गर्ने भनेकाले दिएको उनको दाबी थियो।
‘८० वर्ष सित्तैमा जग्गा दिएको होइन। वनको जग्गाको सट्टा अर्को ठाउँमा जग्गा उपलब्ध गराउने गरी ३० वर्षका लागि ९३ रोपनी जग्गा दिइएको रहेछ,’ प्रधानमन्त्रीले भने। उनले सरकार व्यापारिक घरानाको प्रतिस्पर्धामा नरहेको पनि बताए। सरकारले विकास निर्माणका काम गर्ने र कानुनसम्मत काम गरिरहेको पनि ओलीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।