एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दुष्ट काेराेना भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा उनले यस्ताे बताएका हुन्। राष्ट्रपति सीले कोरोना भाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको जानकारी गराएका बीबीसीले लेखेकाे छ।
कोरोना भाइरस सङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान गएको र थप ८ सयमा सङ्क्रमण भएको आँकडा दिएका छन्। हुबेइको वुहान सहरबाट विदेशीलाई उद्धार गर्न थालिएको छ।
हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट १०६ जनाको ज्यान गएको छ। चीनमा कोरोना भाइरसका कारण भएका अधिकांश मृत्युका घटना वुहान सहर रहेको हुबेइ प्रान्तमा भएको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मङ्गलवार चीनले सहमति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।