काठमाडौैैं– नेपालमा महिलाका मुद्दा बोक्ने महिलाप्रधान फिल्महरु आकलझुकलमात्रै बन्छन्। नत्र त यहाँ प्रायःजसो हिरोइनलाई हिरोको वरिपरी नचाउने परम्परागत मानसिकता नै हावी छ।
सोमबारमात्रै राजधानीमा आयोजित ‘२ नम्बरी’ फिल्मको घोषणा कार्यक्रममा अभिनेत्री वर्षा राउतलाई यही सन्दर्भ जोड्दै पत्रकारले प्रश्न गरे, ‘हिरोको वरिपरी नाच्ने फिल्मभन्दा माथि उठेर अब तपाईले महिला प्रधानमा फिल्ममा पनि काम गर्नुपर्छ भन्ने लाग्दैन?’
प्रश्न सुनेर वर्षा एकछिन् निःशब्द भइन्। त्यसपछि प्रश्नलाई एकदमै गहिरोको संज्ञा दिँदै उनले भनिन्, ‘यहाँ महिलाप्रधान फिल्ममा पैसा हाल्न प्रोड्युसरहरु नै डराउँछन्। सायद दर्शकलाई पनि त्यस्तो फिल्म हेर्न मन नलाग्दो हो। त्यहीभएर त हलमा त्यति चल्दैन। पैसा हालेपछि प्रोड्युसरको पनि रिटर्न आओस् भन्ने चाहना हुन्छ। त्यसैले उनीहरुले यस्तो फिल्म बनाउन डराउँछन्।’
तर, आफूलाई महिलाप्रधान फिल्ममा काम गर्न एकदमै इच्छा रहेको उनले बताइन्। राम्रो फिल्म नपाएकै कारण आफूले लामो समय फिल्मबाट ग्याप लिएको समेत खुलाइन्। करिब ८ महिनाअघि रिलिज भएको ‘जात्रैजात्रा’पछि उनले साइन गरेको पछिल्लो फिल्म नै ‘२ नम्बरी’ हो।
‘मैले दुइ वर्षसम्म फिल्म कुरेँ तर त्यस्तो फिल्म आएन,’ वर्षाले गुनासो पोखिन्, ‘‘अनि फिल्म नखेली बस्दा पनि ‘तपाईलाई फिल्ममा किन नलिएको?’, ‘तपाईको अर्को फिल्म कहिले आउँछ?’ जस्ता पत्रकारको अनेक प्रश्न झेल्नुपर्छ। यस्ता प्रश्नले महिला कलाकारलाई फिल्म खेल्न झन् ठूलो दबाब सिर्जना हुने रहेछ।’
उनको भनाईको आशय थियो– यस्तै प्रश्नहरुले सिर्जना गर्ने दबाबका कारण यहाँ महिला कलाकार जस्तो पनि फिल्म खेल्न तयार हुनु परेको छ।
तस्बिर: योगप्रसाद विमली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।