सुर्खेत- कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशरसिंह ठकुरीको टिपरले किच्दा मृत्यु भएपछि चर्किएको तनाव साम्य पार्न प्रशासनले १२ घण्टे कर्फ्युआदेश जारी गरेको छ।
ठकुरीको मंगलबार बिहान ८ बजे मृत्युु भएको थियो। घटनापछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ। आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र आन्दोलनकारी समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार शान्तिसुरक्षालाई मध्यनजर गर्दै मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कंफ्र्यु लगाइएको छ। ‘पूर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्गदेखि पाँच सय मिटरसम्म कर्फ्यु लगाइएको छ,’ खड्काले भने। जिल्ला प्रहरी कार्यालय, र प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकता अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्नेसमेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।